प्रधानमन्त्री कपमा आर्मीको अपराजित यात्रा जारी

प्रधानमन्त्री कपमा आर्मीको अपराजित यात्रा जारी



काठमाडौं । कर्णाली प्रदेशविरुद्ध १३८ रनको एकतर्फी जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको २६७ रनको लक्ष्य पछ्याएको कर्णाली ४२.१ ओभरमा १३० रनमै समेटियो ।

कर्णालीका लागि विपिन शाहीले ४०, अर्जुन घर्तीले ३२, दीपेन्द्र रावतले २५ र सुनिल धमलाले ११ रन बनाए । आर्मीका लागि शाहब आलम र बसिर अहमदले ३–३, अकाश चन्दले २ तथा दुर्गेश गुप्ता र नरेन साउदले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाउँदै २६८ रनको योगफल तयार पारेको थियो ।

आर्मीका लागि अर्जुन साउदले १२० बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक १२१ रनको योगदान गरे । यसैगरी, बसिर अहमदले ४५, सन्तोष कार्कीले २९, नरेन साउदले २० र शाहब आलमले १७ रन बनाए ।

कर्णालीका लागि दिनेश अधिकारीले ४, प्रकाश जैशीले ३ तथा राज शाह, विपिन शर्मा र दिपेन्द्र रावतले १–१ विकेट लिए ।

यससँगै अपराजित यात्रा कायमै राखेको आर्मीले ६ खेलमा ११ अंक जोडेको छ । पराजित कर्णाली ७ खेलबाट ३ अंकका साथ नवौँ स्थानमा छ ।