एनपीएल–२ बाट क्यानलाई ९ करोड २१ लाख बचत

एनपीएल–२ बाट क्यानलाई ९ करोड २१ लाख बचत



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमिति वैठकले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा भएको आम्दानी र खर्चको हिसाब पारित गरेको छ ।

हिसाब अनुसार क्यानलाई एनपीएल २ बाट ९ करोड २१ लाखभन्दा बढी आम्दानी भएको देखिन्छ ।

कार्यसमिति बैठकमा क्यानको अधिकार सम्पन्न नेपाल प्रिमियर लिग परिचालन परिषद (गभर्निङ काउन्सील)ले हिसाब पेश गरेको थियो ।

जसअनुसार एनपीएल २ बाट क्यानले कुल ४७ करोड ३६ लाखभन्दा बढी कुल आम्दानी गर्यो । त्यसमध्ये प्रतियोगितामा २१ करोड ९६ लाख ५ हजार १ सय २१ रुपैयाँ खर्च भएको छ ।

बाँडफाँडअघि क्यानले करिब २५ करोड ४० लाख रुपैयाँ आम्दानी गर्यो । यो आम्दानीको ५० प्रतिशत ८ फ्रेन्चाइज टिमहरुलाई वितरण गरिएको छ, जुन रकम १६ करोड १८ लाखभन्दा बढी हुन्छ ।

यसरी बचेको ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ क्यानलाई बचत भएको हो ।