कैलाली । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई प्राथमिकतामा राखेर बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज रङ्गशालाको निरीक्षण गर्दै मन्त्री पोखरेलले यो रङ्गशाला राष्ट्रिय आयोजना बैंकमा समावेश भइसकेकाले अब सरकारले विशेष प्राथमिकतामा राखेर बजेट र कार्यान्वयनको पाटोलाई अगाडि बढाउने बताए । उनले यो रङ्गशाला निर्माण भएपछि समग्र देशको आर्थिक विकासका लागि ‘गेम चेन्जर’ परियोजना हुने उल्लेख गरे ।
धनगढी उपमहानगरपालिका–३ मा निर्माण भइरहेको परियोजनाको जग्गा प्राप्ति, डीपीआर, ईआईए जस्ता प्राविधिक प्रक्रियाहरू पूरा भइसकेको छ ।
‘ड्रिम फाप्ला’ अभियानअन्तर्गत यहाँ अन्तर्राष्ट्रिय मापदण्डअनुरूप ५० हजार दर्शक अट्ने क्षमताको क्रिकेट रङ्गशाला चरणबद्ध रूपमा निर्माण गरिने लक्ष्य छ ।
यस्तै रङ्गशालामा फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एन्ड फिल्ड, मल्टी स्पोर्ट्स हल, स्पोर्ट्स म्युजियम लगायतका पूर्वाधारहरू समावेश गरिनेछन् । आयोजनाको लागत २६ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।


प्रतिक्रिया