प्रधानमन्त्री कप क्रिकेटमा बागमती र मधेश प्रदेश विजयी

प्रधानमन्त्री कप क्रिकेटमा बागमती र मधेश प्रदेश विजयी



काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा बागमती प्रदेश र मधेश प्रदेश विजयी भएका छन् ।

जनकपुरमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले हरायो । कोशीले दिएको १०० रनको लक्ष्य बागमतीले ९ ओभरमा ३ विकेट गुमाएर भेटायो ।

बागमतीका विवेक मगरले नटआउट ६१ रन बनाए । कोशीका विपिन महतोले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोशी २८ ओभर २ बलमा ९९ रनमै अलआउट भयो । कोशीका कप्तान सुजन थपलियाले २१ रन बनाए । बागमतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए ।

योसँगै बागमती ७ खेलमा ३ जीतसहित ६ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा उक्लिएको छ । कोशी लगातार ६ खेलमा हार बेहोर्दै १ अङ्कसहित पुछारमा छ ।

यस्तै वीरगञ्जमा भएको खेलमा मधेशले गण्डकी प्रदेशलाई डीएसएल पद्धतिका आधारमा १८ रनले हरायो ।

खेल वर्षाले प्रभावित भएपछि २२ ओभरमा ९९ रनको लक्ष्य पछ्याएको गण्डकीले २२ ओभरमा ५ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो ।

गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए । मधेशका विशाल पटेल, रूपेश सिंह, आशिक बैठा र मोहम्मद आदिल आलमले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मधेशले ३४ ओभर ५ बलमा १७२ रन बनाउँदा सबै विकेट गुमायो । मधेशका मयन यादवले ४३ रन बनाए । गण्डकीका अपराजित पौडेल र सुवास भण्डारीले ३/३ विकेट लिए ।

योसँगै मधेश ६ खेलमा ४ जीतसहित ९ अङ्क जोडर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । गण्डकी ७ खेलमा ५ अङ्कसहित आठौँ स्थानमा छ ।