पाकिस्तानमा हुने वार्तामा इरान सहभागी हुने

पाकिस्तानमा हुने वार्तामा इरान सहभागी हुने



पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधवार जारी गरेको विज्ञप्तिअनुसार इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँगको टेलिफोन कुराकानीका क्रममा इस्लामावादमा हुने वार्तामा इरान सहभागी हुने पुष्टि गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरिफले बुधवार पेजेस्कियानसँग टेलिफोन वार्ता गर्नुभएको थियो । जसमा उहाँले युद्धविराममा सहमत भएको र यसै हप्ताको अन्त्यमा इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिकाबीचको वार्ता आयोजना गर्ने पाकिस्तानको प्रश्ताव स्वीकार गरेकोमा इरानी नेतृत्वप्रति गहिरो प्रशंसा व्यक्त गर्नुभयो । आफ्नो तर्फबाट, इरानी राष्ट्रपतिले इस्लामावादमा हुने वार्तामा इरान सहभागी हुने कुराको पुष्टि गर्नुभयो ।’

विज्ञप्तिअनुसार दुवै नेता निकट सम्पर्कमा रहन सहमत भएका छन् ।

वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान आउने
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानमा इरानसँग हुने प्रत्यक्ष शान्ति वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व गर्ने ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले बुधवार जानकारी दिएकी छन् ।

यो वार्ता शनिवार बिहानदेखि शुरु हुने अपेक्षा गरिएको छ । ह्वाइट हाउसको प्रेस ब्रिफिङमा लेविटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र उनका ज्वाइँ जेरेड कुश्नर पनि वार्तामा सहभागी हुनेछन् ।

यसअघि पाकिस्तानले इस्लामाबादमा अमेरिकी र इरानी वार्ताकारहरू बिच शुक्रवार नै वार्ता आयोजना गर्ने प्रस्ताव गरेको थियो ।