एजेन्सी । जापानी नागरिकहरूको एक ठूलो समूहले बिहीबार साँझ टोकियोस्थित संसद भवनबाहिर देशको शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरोधमा प्रदर्शन गरे ।
जसमा लामो दूरीका क्षेप्यास्त्रहरूको तैनाथी र घातक हतियार निर्यातमाथिको प्रतिबन्ध खुकुलो पार्ने प्रयासहरू समावेश छन् । प्रदर्शनकारीहरूले धारा ९ को रक्षा गरौं, युद्ध चाहिँदैन, र ताकाइची सरकार अहिले नै राजीनामा देऊ, लेखिएका प्लेकार्डहरू बोकेका थिए ।
राष्ट्रिय डाइट भवन अगाडि आयोजित उक्त र्याली संवैधानिक संशोधनको विरोधमा रहेका जापानी नागरिक समूहहरूले आयोजना गरेका थिए । आयोजकहरूकाअनुसार प्रदर्शनमा करिव ३० हजार मानिसहरूको सहभागिता रहेको थियो ।
टोकियो शिम्बुनको रिपोर्टअनुसार शान्तिवादी संविधानको रक्षाको माग गर्दै टोकियो र्यालीको समन्वयमा सोही दिन जापानभरि १३० भन्दा बढी स्थानहरूमा यस्तै प्रदर्शनहरू भएका थिए ।
सन् १९४७ मा लागू भएको जापानको संविधानलाई अक्सर शान्तिवादी संविधान भनिन्छ किनभने यसको धारा ९ मा जापानी जनताले राष्ट्रको सार्वभौम अधिकारको रूपमा युद्ध र अन्तर्राष्ट्रिय विवादहरू सुल्झाउने माध्यमको रूपमा बल प्रयोग वा धम्कीलाई सधैंका लागि त्याग्ने उल्लेख छ ।


प्रतिक्रिया