काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको प्रतिनिधि सभामा संसदीय दलको नेता चयन गर्न बनाएको निर्वाचन समितिले आज पार्टीका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेको छ । सहमहामन्त्री प्रकाश रसाइली स्नेही नेतृत्वको निर्वाचन समितिले शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल गरेको हो ।
छलफलपछि निर्वाचन समितिका संयोजक रसाइलीले आज दलको नेता चयनबारे छलफल गरेको बताए । यो छलफललाई भोलि पनि निरन्तरता दिइने जानकारी दिए । ‘आज हामीले छलफल सुरु गरेका छौँ । भोलि पनि छलफललाई निर्वाचन समितिले निरन्तरता दिन्छ,’ संयोजक रसाइलीले सञ्चारकर्मीहरूसँग भने ।
उनले पार्टी र सांसदहरूबिच आन्तरिक एकता कायम गर्न अधिकतम सहमतिको प्रयास गरिने जानकारी दिए ।
दलको विधान संशोधनको लागि पनि प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए । निर्वाचन समितिका सदस्य मुना भुसाल र राजु कटवालले विधान संशोधनका लागि काम गरिरहेको जानकारी दिए ।
बैठकपछि सांसद अर्जुननरसिंह केसीले दलको नेता अर्को साता मात्रै चयन हुने जानकारी दिए । ‘हामीले प्रक्रिया सुरु गरेका छौँ । सकभर सहमतिमा चयन गर्ने नसकेमा निर्वाचनमार्फत अर्को साता चयन गर्छौ,’ सांसद केसीले भने।
आजको छलफलमा २६ सांसद बोलेका थिए । बोल्ने अधिकांश सांसदले दलको नेता चयनमा ढिला भएको गुनासो राखेको सांसद केसीले बताए । कांग्रेसका प्रतिनिधि सभामा ३८ सांसद छन् ।


प्रतिक्रिया