कांग्रेसमा आन्तरिक छलफल, खड्काले आइतबार पनि बोलाए बैठक

कांग्रेसमा आन्तरिक छलफल, खड्काले आइतबार पनि बोलाए बैठक


ग्लोब नेपाल
1.3k
Shares

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । खड्काको सचिवालयका अनुसार बैठक आइतबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो १२:१५ बजे बस्नेछ ।

उपत्यकामा उपलब्ध सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई छलफलका लागि आमन्त्रण गरिएको छ । सचिवालयका अनुसार बैठक आन्तरिक छलफलका लागि आयोजना गरिएको हो ।

यसअघि नेपाली कांग्रेसको वैधानिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार निर्णय सुनाएको थियो । गगन थापा नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएको निर्णयविरुद्ध खड्का पक्ष अदालत पुगेको थियो ।

तर सर्वोच्च अदालतले आयोगको निर्णय सदर गर्दै थापा नेतृत्वको कार्यसमितिलाई नै वैधानिकता प्रदान गरेको थियो । अदालतको उक्त निर्णयपछि खड्का पक्ष शनिबार पनि आन्तरिक छलफलमा जुटेको थियो ।

यसै क्रममा शनिबार काठमाडौंको गोल्फुटारस्थित खड्काको निवासमा पनि बैठक बसेको थियो । बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहित नेताहरू एनपी साउद, मीन विश्वकर्मा र रमेश लेखक सहभागी थिए ।

तर डा. शेखर कोइराला र उनी पक्षधर नेताहरू भने उक्त बैठकमा सहभागी भएका थिएनन् ।