पार्टीहित विपरीत काम गर्नेहरूसँग सम्झौता गरिँदैन: राजेन्द्र लिङदेन

पार्टीहित विपरीत काम गर्नेहरूसँग सम्झौता गरिँदैन: राजेन्द्र लिङदेन


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गत निर्वाचनमा राप्रपाले प्राविधिक रूपमा हारे पनि राजनीतिक र वैचारिक रूपमा ठूलो विजय हासिल गरेको दाबी गरेका छन् ।

राप्रपा सम्पर्क समाज विभागद्वारा आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा परिवर्तन खोज्ने जनताको भावनाको प्रतिनिधित्व राप्रपाले मात्र गर्न सक्ने बताए । अध्यक्ष लिङदेनले एउटा चुनावको हारजितले पार्टीको भविष्य र विचारको अन्त्य नहुने बताए ।

‘हामीले एउटा चुनाव हारेका छौँ, तर हामीले लिएको विचार र बाटो हारेको छैन ।’उनले भने ‘देशमा ३६ वर्षदेखि मुठ्ठीभर नेताले मुलुकलाई बन्धक बनाएका थिए, जनताले अहिले परिवर्तन खोजेका छन् । त्यो परिवर्तनको नेतृत्व राप्रपाले गर्नेछ ।’

पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउन सङ्गठनभित्र सुधार र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उनले औँल्याए । निर्वाचनका बेला पार्टीका उम्मेदवार हराउन सक्रिय हुने र अनुशासनहीन काम गर्नेहरूलाई अब कुनै पनि हालतमा छुट नदिइने उनले स्पष्ट पारे । ‘पार्टी हित विपरीत काम गर्नेहरूसँग अब गलत सम्झौता गरिँदैन’ लिङदेनले चेतावनी दिए ।

अध्यक्ष लिङदेनले पार्टीको महाधिवेशन समयमै हुने र कार्यकाल लम्ब्याउने कुनै मनसाय नरहेको प्रस्ट पारे । भोलिदेखि नै सातै प्रदेशमा समीक्षा बैठक सुरु हुने र त्यसपछि केन्द्रीय कार्यसमितिले महाधिवेशनबारे आवश्यक निर्णय लिने उनले जानकारी दिए । ‘महाधिवेशन नै अबको समस्याको समाधान हो, यसमा कोही पनि भ्रममा पर्नु पर्दैन ।’ उनले कार्यकर्तालाई आश्वस्त पारे ।

वर्तमान सरकार र विशेष गरी नयाँ राजनीतिक शक्तिहरूको कार्यशैलीप्रति टिप्पणी गर्दै उहाँले जनतालाई ‘स्टन्टबाजी’ ले भन्दा पनि ‘परिणाम’ ले बुझाउनुपर्ने बताए । २४ घण्टामा लाइसेन्स दिने प्रचार भएपनि व्यवहारमा जनताले सास्ती भोगिरहेको प्रसङ्ग उल्लेख गर्दै उनले सुशासनको मुद्दामा गृहमन्त्री र सरकारले आफ्नो अडान प्रस्ट पार्नुपर्ने माग गरे ।

सडकपेटीका व्यवसायीमाथि गरिएको व्यवहार र भन्सारमा गरिने दुर्व्यवहारप्रति उनले सरकारको ध्यानाकर्षण गराए ।

अध्यक्ष लिङदेनले देशको राजनीतिक स्थिरताका लागि तीनवटा मुख्य बुँदामा सरकारलाई अघि बढ्न आह्वान गरे । अभिभावकीय संस्थाका रूपमा राजास् राष्ट्रपतिको सट्टा राजालाई अभिभावकीय संस्थाका रूपमा राख्ने, हिन्दु राष्ट्रस् पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको पुनर्स्थापना, प्रदेश संरचनाको खारेजी: प्रशासनिक र आर्थिक रूपमा बोझिलो बनेको प्रदेश संरचना खारेज गर्ने वा व्यापक सुधार गर्ने एजेण्डा अघि बढाउन आग्रह गरे ।

पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा आएको युरेनियम भण्डार लगायतका भू–राजनीतिक संवेदनशीलताका विषयमा सरकारले हतारमा कुनै पनि सन्धि सम्झौता नगर्न उनले आग्रह गरे । भ्रष्टाचारको छानबिनका लागि २०४६ पछि सबै उच्चपदस्थहरूको सम्पत्ति छानबिन हुनुपर्ने र त्यसको सुरुवात आफूबाटै गर्न उनले चुनौती दिए ।

अध्यक्ष लिङदेनले सम्पूर्ण कार्यकर्तालाई उत्साहित भएर संगठन निर्माण र आगामी महाधिवेशनको तयारीमा जुट्न हार्दिक अपिल गरेका छन् ।