गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी दर्ता

गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी दर्ता


ग्लोब नेपाल
0
Shares

काठमाडौं । जेनजी मुभमेन्ट, नेपालले गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको छ ।

मंगलबार मुभमेन्टका प्रवक्ता विजय शाहले नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकलाई सम्बोधन गरी निवेदन दर्ता गराएका हुन् । निवेदनमा गुरुङलाई पक्राउ गरी निष्पक्ष छानबिन अघि बढाउन अनुरोध गरिएको छ ।

उजुरीमा मुभमेन्टले तीन आधार प्रस्तुत गरेको छ । पहिलो, तथ्यगत आधार उल्लेख गर्दै वैशाख ६ गते जारी गरिएको प्रेस वक्तव्यअनुसार गृहमन्त्री गुरुङमाथि गम्भीर आरोप सार्वजनिक भइसकेको दाबी गरिएको छ ।

दोस्रो, कानुनी आधारतर्फ औंल्याउँदै मुलुकी फौजदारी संहिताअनुसार गम्भीर आरोप लागेका व्यक्तिमाथि निष्पक्ष अनुसन्धानका लागि पक्राउ गर्न सकिने व्यवस्था रहेको जिकिर गरिएको छ । पदमा रहेर अनुसन्धान प्रभावित पार्ने कार्य ‘इभिडेन्स ट्याम्परिङ’ र ‘अब्सट्रक्सन अफ जस्टिस’ जस्ता फौजदारी कसुर हुन सक्ने पनि उल्लेख गरिएको छ ।

तेस्रो, राजनीतिक आधार प्रस्तुत गर्दै मुभमेन्टले जेनजी आन्दोलनलाई स्वयं गृहमन्त्री गुरुङले हिंसात्मक बनाएको आरोप लगाएको छ । पानी वितरणको नाममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने बहानामा आन्दोलन ‘हाइज्याक’ गरी हिंसात्मक बनाइएको दाबी निवेदनमा गरिएको छ ।

यस्तै, आन्दोलनको दुरुपयोग गर्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन, पद प्राप्ति तथा बिचौलियासँग साठगाँठ गरेको आरोपसमेत लगाइएको छ ।

प्रहरी प्रधान कार्यालयमा बुझाइएको उक्त निवेदनको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगमा समेत पठाइएको छ ।