संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा गरेका छन् । उनले तेहरानलाई युद्ध अन्त्य गर्न प्रस्ताव ल्याउन थप समय दिन आक्रमण स्थगित गर्ने पनि बताएका छन् ।
मंगलबार गरिएको यो निर्णय पाकिस्तानका मध्यस्थकर्ताको आग्रहमा आएको ट्रम्पले बताएका छन् । यसअघि ट्रम्पले बुधबारसम्म पनि इरान सहमतिमा नआए आक्रमण गर्ने धम्की दिएका थिए ।
उनले युद्धविराम अवधि लम्बिए पनि इरानमाथिको नाकाबन्दी जारी रहेको बताएका छन् । ‘हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयार अवस्थामा रहन निर्देशन दिएको छु,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरूको प्रस्ताव प्रस्तुत नभएसम्म र वार्ता निष्कर्षमा नपुगेसम्म युद्धविराम विस्तार गरिनेछ ।’
युद्धविराम कति समयसम्म लम्बिएको हो भन्ने कुरा ट्रम्पले खुलाएका छैनन् । युद्धविराम विस्तार ट्रम्प प्रशासनको अचानक निर्णय परिवर्तनको उदाहरण बनेको छ । सामाजिक सञ्जाल पोस्ट गर्नुअघि केही घण्टामै ट्रम्पले युद्धविराम नलम्ब्याउने र इरानमाथि ठूलो आक्रमण गर्ने चेतावनी दिएका थिए ।
त्यसबीच इरानी अधिकारीहरूले अमेरिकाले इरानका बन्दरगाहहरूमा लगाएको नौसैनिक नाकाबन्दीको आलोचना गरेका थिए, जसले बुधबारका लागि तय गरिएको वार्तामा उनीहरूको सहभागिता अनिश्चित बनाएको थियो ।
पछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले युद्धविराम लम्ब्याउने निर्णयका लागि ट्रम्पप्रति धन्यवाद व्यक्त गर्दै इस्लामाबादले द्वन्द्व समाधानका लागि कूटनीतिक पहल जारी राख्ने बताएका छन् ।
‘म आशा गर्दछु कि दुवै पक्षले युद्धविरामको पालना जारी राख्नेछन् र इस्लामाबादमा हुने दोस्रो चरणको वार्ताबाट स्थायी समाधान निकाल्न सक्नेछन्,’ शरीफले एक्समा लेखेका छन् ।
तर नौसैनिक नाकाबन्दी जारी रहेकाले युद्धविराम विस्तारले मात्र इरानलाई वार्तामा ल्याउन पर्याप्त हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन ।
युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको वक्तव्यबारे इरानले तत्काल प्रतिक्रिया दिएको छैन । अर्धसरकारी तास्निम समाचार एजेन्सीले तेहरानको धारणा पछि औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको अलजजिराले लेखेको छ ।
यसअघि मंगलबार नै इरानका विदेशमन्त्री अब्बास अराघचीले बन्दरगाह नाकाबन्दीलाई ‘युद्धको कार्य’ भन्दै विद्यमान युद्धविरामको उल्लंघन भएको बताएका थिए । ‘इरानलाई प्रतिबन्ध निष्प्रभावी बनाउने, आफ्ना हित रक्षा गर्ने र दबाबको सामना गर्ने तरिका थाहा छ,’ उनले लेखेका छन् ।


प्रतिक्रिया