काँग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

काँग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ ।

काँग्रेसले पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले वैशाख ७ गते सार्वजनिक गरेको ‘निर्वाचन कार्यक्रम’ अनुसार यसअघि बिहीबार मतदाताको नामावली प्रकाशित गरिएको थियो ।

दलको नेताका लागि उम्मेदवारी दर्ता र निर्वाचन आज नै हुने तय भएको छ । उम्मेदवारी दर्ताका लागि (आज) शुक्रबार दिउँसो ३ बजेदेखिको समय तोकिएको छ भने ४:४० बजे अन्तिम नामावली प्रकाशन गरिनेछ। निर्वाचनका लागि भने अपराह्न ५ बजेदेखिको समय तोकिएको छ ।

काँग्रेसबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ जितेका १८ र समानुपातिक प्रणालीबाट सांसद भएका २० गरी ३८ सांसद छन् ।

भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दलको नेताका लागि दाबी प्रस्तुत गर्दै आफ्नो पक्षमा माहौल बनाउने प्रयास गरिरहेका छन् ।

पछिल्लो समय विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर भन्दै दुई गुटमा विभक्त काँग्रेसमा केसी र आचार्य विशेष महाधिवेशन पक्षधर (अहिलेको संस्थापन) र आङ्देम्बे नियमित महाधिवेशन पक्षधर हुन् । दाबी गर्नेमध्ये आचार्यले रसुवाबाट प्रत्यक्ष निर्वाचन जितेका थिए भने आङदेम्बे र केसी समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।