ओलखढुंगा । प्रतिनिधिसभा सांसद विश्वराज पोखरेलको विद्यालय भ्रमणका क्रममा उत्पन्न विवादको भिडिओ सार्वजनिक गरिएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खिजिदेम्बा गाउँपालिका कार्य समितिले आपत्ति जनाएको छ ।
समितिले शनिबार विज्ञप्ति जारी गर्दै पोखरेलले विद्यालयमा रहेका समस्या, सहयोग तथा समाधानका विषयमा छलफल गर्न खोज्दा विद्यालय व्यवस्थापन समिति तथा प्रशासनको लापरवाहीपूर्ण व्यवहार र ढिलासुस्तीका कारण अप्रत्याशित रूपमा विवाद सिर्जना भएको बताएको छ । सोही क्रममा विवाद समाधान गरिएको भएता पनि नियतवश उक्त विषयलाई तोडमोड गरी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिएको भन्दै आपत्ति व्यक्त गरेको हो ।
पोखरेल प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित भएपछि स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट, विकास निर्माणको अनुगमन तथा जनताका समस्याबारे स्थलगत रूपमा जानकारी लिने क्रममा खिजिदेम्बा गाउँपालिकाका विभिन्न वडा कार्यालय, विद्यालय तथा निर्माणाधीन संरचनाहरूको अवलोकन गर्दै आएका थिए ।
यसै क्रममा वैशाख १० गते बिहान खिजिदेम्बा गाउँपालिका–२ स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय, रगनीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रमबारे विद्यालयलाई पूर्व जानकारी गराइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘माननीयज्यूले व्यस्त समयका बावजुद विद्यालयमा रहेको समस्याबारे सहयोग तथा समाधानका विषयमा छलफल गर्न खोज्नुभएको उक्त अन्तरक्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथा प्रशासनको लापरवाहीपूर्ण व्यवहार र ढिलासुस्तीका कारण अप्रत्याशित रूपमा विवाद सिर्जना हुन पुगेको थियो ।
सोही क्रममा प्रधानाध्यापकबाट आत्मआलोचना सहित विवाद समाधान गरिएको भएता पनि नियतवश उक्त विषयलाई तोडमोड गरी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र सो कार्यप्रति खेद प्रकट गर्दछौं । साथै, यस घटनाबाट आम शुभेच्छुक, ओखलढुंगाका आमा-बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू साथै विद्यालय प्रशासनमा पर्न गएको असरप्रति हामी क्षमाप्रार्थी छौं ।’



प्रतिक्रिया