होल्डिङ सेन्टर भरिएपछि होटलमा सुकुम्बासी

होल्डिङ सेन्टर भरिएपछि होटलमा सुकुम्बासी


ग्लोब नेपाल
270
Shares

काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टर भरिएपछि सुकुम्बासी परिवारलाई होटलमा राख्न थालिएको छ ।

घरबिहीन भन्दै सम्पर्कमा आएका सुकुम्बासीहरूलाई शनिबार दिउँसोदेखि कीर्तिपुरस्थित सत्सङ भवनमा राखिएको थियो । तर, त्यहाँ स्थान अभाव भएपछि बाँकीलाई होटलमा स्थानान्तरण गर्न लागिएको काठमाडौं महानगर प्रहरी बलका डीएसपी पूर्णचन्द्र भट्टले जानकारी दिएका छन् ।

उनका अनुसार माछापोखरी र नयाँ बसपार्क क्षेत्रका होटलहरूमा ७० वटा कोठा बुक गरिएको छ । ‘होटल व्यवसायीहरूले व्यवस्थापनमा सहयोग गरेपछि त्यतै राख्न लागिएको हो,’ उनले भने ।

महानगरले थापाथली, सिनामंगललगायत क्षेत्रबाट विस्थापित सुकुम्बासीहरूको विवरण संकलन गरिरहेको छ । यसका लागि दशरथ रंगशालामा स्क्रिनिङ सेन्टर स्थापना गरिएको छ, जहाँ अझै पनि विवरण टिपाउनेको भीड जारी छ ।

अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालक कुमार सिंखडाका अनुसार साँझ साढे ६ बजेसम्म १२३ परिवारका ५६४ जनाको विवरण संकलन भइसकेको छ । तीमध्ये गैरीगाउँका २२, सिनामंगलका ८ र शान्तिनगरका ५ परिवार छन् भने बाँकी थापाथली क्षेत्रका हुन् ।

संकलित विवरणअनुसार ३१ परिवारलाई कीर्तिपुर पठाइसकिएको छ भने केही परिवारले आफैं कोठा खोजेको भन्दै नाम दर्ता गराएर फर्किएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार वास्तविक सुकुम्बासीको पहिचानपछि उनीहरूलाई दुई साताभित्र नागार्जुन नगरपालिकामा रहेको सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ ।

उनले हालको व्यवस्थापन अस्थायी रहेको र भोलिबाटै वास्तविक सुकुम्बासी छुट्याउने प्रक्रिया सुरु हुने बताए । वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई नागार्जुनस्थित सरकारी आवासमा राखेर दीर्घकालीन व्यवस्थापन गरिने उनको भनाइ छ ।