काठमाडौँ । सार्वजनिक खरिद प्रक्रियामा प्रयोग हुँदै आएको ‘ई-गभर्नमेन्ट प्रोक्युरमेन्ट (ई-जीपी)’ प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्का सम्बन्धी संवेदनशील विवरणमा हेरफेर गरिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको डिजिटल प्रणालीमा अनधिकृत प्रवेश गरी ठेक्काको आर्थिक प्रस्ताव खोलिनु अघि नै कागजात परिवर्तन गरिएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। सोही अनुसन्धानका क्रममा अदालतको अनुमति लिएर पक्राउ कार्य सम्पन्न गरिएको हो।
पक्राउ पर्नेमा ई-कोन प्रा.लि.का सेयरधनी तथा लेखापाल ३० वर्षीय स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रा.लि.का सञ्चालक ४१ वर्षीय प्रकाश ढुंगाना रहेका छन्।
प्रहरीका अनुसार पोखरेललाई काठमाडौँ महानगरपालिका-३२ पेप्सीकोलाबाट वैशाख १२ गते र ढुंगानालाई काठमाडौँ महानगरपालिका-१६ बालाजु क्षेत्रबाट वैशाख १३ गते नियन्त्रणमा लिइएको हो।
उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। प्रारम्भिक अनुसन्धानले ठेक्काको आर्थिक प्रस्ताव सार्वजनिक हुने चरणअघि नै प्रणालीमा प्रवेश गरी डकुमेन्टमा परिवर्तन गरिएको संकेत देखाएको प्रहरीले जनाएको छ।
ब्युरोका अनुसार हालै संशोधन भएको संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत मुद्दाको दायरा विस्तार गर्दै थप अनुसन्धान भइरहेको छ।
यसअघि नै सोही प्रकरणमा अन्य केही व्यक्तिहरू पनि पक्राउ परिसकेको र समग्र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।



प्रतिक्रिया