विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सञ्चार जगत्लाई संविधानले दिएको अधिकारको पूर्ण उपयोग गर्दै निर्भय र सक्रिय भई आमनागरिकसम्म सत्य सूचना प्रवाह गर्न आग्रह गरेका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकार तथा नेपाली दाजुभाइ-दिदीबहिनीलाई शुभकामना व्यक्त गर्दै उनले स्वतन्त्र पत्रकारितामार्फत सत्यको खोजी र तथ्यपरक सूचना सम्प्रेषणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

राष्ट्रपति पौडेलका अनुसार प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो र विभिन्न लोकतान्त्रिक आन्दोलनमा यसको भूमिका अत्यन्त महत्वपूर्ण रहँदै आएको छ। उनले प्रेस स्वतन्त्रताले नागरिकको सुसूचित हुने संवैधानिक अधिकार सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र सशक्त प्रेसले लोकतन्त्रलाई थप सुदृढ बनाउने बताए।

शुभकामना सन्देशमा उनले पत्रकारहरूलाई सुरक्षित वातावरणमा स्वतन्त्र रूपमा काम गर्न पाउने सुनिश्चितता आवश्यक रहेको औँल्याउँदै संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराएका छन्। सूचना सङ्कलनदेखि प्रसारणसम्मको प्रक्रिया स्वतन्त्र र निर्वाध हुनुपर्ने तथा सबै वर्ग र समुदायको आवाज सञ्चारमाध्यममार्फत उजागर हुनुपर्ने उनले बताए।

साथै, सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै फैलन सक्ने भ्रामक र मिथ्या सूचनाले समाजलाई भ्रमित पार्ने चुनौती रहेको उल्लेख गर्दै उनले यस्ता चुनौतीलाई चिर्दै सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न नेपाली प्रेस जगत्ले थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त गरोस् भन्ने कामना गरेका छन्।