काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको कमजोर आर्थिक अवस्था तथा पत्रकारको पेसागत र भौतिक सुरक्षामा बढ्दो जोखिमका कारण प्रेस स्वतन्त्रता झन् चुनौतीपूर्ण बन्दै गएको बताएकी छिन्।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण श्रमजीवी पत्रकार, सञ्चारगृह तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना दिँदै उनले वर्तमान अवस्थामा प्रेस स्वतन्त्रता झन् पेचिलो बन्दै गएको उल्लेख गरिन्। उनले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न विभिन्न पेसागत सङ्गठन र नागरिक अगुवासँग ऐक्यबद्धताको आवश्यकता रहेको औँल्याइन्।
उनका अनुसार इतिहासभर नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्य वा अन्य क्षेत्रबाट नियन्त्रणका प्रयासहरू हुँदै आए पनि सञ्चार क्षेत्रले त्यसको सशक्त प्रतिवाद गर्दै आएको छ। आगामी दिनमा पनि यस्ता चुनौतीको सामना गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले सजग रहन आग्रह गरिन्।
शुभकामना सन्देशमा लोकतान्त्रिक संविधान लागू भएको दशक बितिसक्दा पनि प्रेस स्वतन्त्रता हननका घटनाहरू बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरिएको छ।
विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने परम्परा सन् १९९१ मा नामिबियाको विन्डहोकमा आयोजित युनेस्कोको सेमिनारबाट सुरु भएको हो। उक्त सेमिनारबाट जारी ‘विन्डहोक घोषणापत्र’को स्मरणमा संयुक्त राष्ट्रसङ्घले सन् १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन थालेको हो।
यस वर्ष “शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन” भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ। युनेस्कोले जाम्बियाको लुसाकामा मे ४ र ५ मा विशेष कार्यक्रम आयोजना गरेको छ भने अन्तरराष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले पेरिसमा मे ४ देखि ७ सम्म महाधिवेशन गर्दै यो दिवस मनाउँदैछ।
अध्यक्ष शर्माले पछिल्लो समय सरकारी विज्ञापनमा देखिएको विभेद, लोककल्याणकारी विज्ञापनमा कटौती तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रवृत्तिले पनि प्रेस स्वतन्त्रता थप दबाबमा परेको बताएकी छिन्।


प्रतिक्रिया