उद्योगी शेखर गोल्छालाई हिरासतमा नराख्न अदालतको आदेश

उद्योगी शेखर गोल्छालाई हिरासतमा नराख्न अदालतको आदेश


ग्लोब नेपाल
0
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ ।

न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी गरिएको पक्राउ अनुमतिको म्याद नथप्ने आदेश दिएको हो । आदेशसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्छालाई हिरासतबाहिर राखेर अनुसन्धान अघि बढाउनुपर्ने भएको छ ।

अदालतको आदेशमा ‘प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने अवस्थाको विद्यमानता नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (३) अनुसार म्याद थप गर्न मिलेन’ उल्लेख गरिएको छ ।

यसअघि सोमबार सर्वोच्च अदालतले धितोपत्रसम्बन्धी कसुरमा धरौटी वा जमानतको व्यवस्था हुँदाहुँदै थुनामा राखेर अनुसन्धान गरिएको विषयमा प्रश्न उठाएको थियो । यद्यपि, बीमासम्बन्धी कसुरमा रिट निवेदनमा माग नभएको भन्दै सर्वोच्चले टिप्पणी गर्न अस्वीकार गरेको थियो ।

सर्वोच्चको आदेशपछि पनि सीआईबीले गोल्छालाई बीमासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको भन्दै हिरासतमा राख्ने प्रयास गरेको थियो । तर, सोही आरोपमा म्याद थपका लागि अदालतमा पेश गर्दा जिल्ला अदालतले म्याद थप्न अस्वीकार गरेको हो ।