लकडाउनमा जन्मिएको प्रेम कथा बोकेको ‘झ्याल’ सार्वजनिक

लकडाउनमा जन्मिएको प्रेम कथा बोकेको ‘झ्याल’ सार्वजनिक


ग्लोब नेपाल
0
Shares

काठमाडौं । कोभिड–१९ महामारीका बेला लागू गरिएको पहिलो लकडाउनको पृष्ठभूमिमा आधारित संगीतमय लघु चलचित्र ‘झ्याल : द विन्डो बिट्विन अस’ सार्वजनिक भएको छ । आर्ट घरको ब्यानरमा निर्माण गरिएको ८ मिनेट ५७ सेकेन्ड लामो यो पोएटिक ड्रामा शैलीको चलचित्रलाई भीष्म जोशीले लेखन तथा निर्देशन गरेका हुन् ।

चलचित्रले लकडाउनका कारण सिर्जित एकान्त, दूरी र मौन सम्बन्धको संवेदनशील कथा प्रस्तुत गर्छ । कथामा ३८ वर्षीया शिक्षिका ऋतु आफ्नै घरभित्र एक्लोपनसँग संघर्ष गरिरहेकी हुन्छिन् । अनलाइन कक्षा, स्वेटर बुन्ने दिनचर्या र शहरबाहिर अड्किएका श्रीमान्को प्रतीक्षाबीच उनको जीवन निस्तेज बन्दै गएको देखाइन्छ ।

यही क्रममा उनले आफ्नै घरअगाडिको भवनमा बस्ने संघर्षरत युवा अभिनेता मौसमलाई देख्न थाल्छिन्, जो आफैं पनि अनिश्चितता र एकान्तसँग जुधिरहेको हुन्छ । झ्यालमार्फत आदान–प्रदान हुने नजर र साना संकेतहरूले उनीहरूबीच मौन तर गहिरो आत्मीयता विकास हुँदै जान्छ। तर, लकडाउन खुलिएसँगै ऋतुका श्रीमान् घर फर्किएपछि उनीहरूको सम्बन्ध सम्झनामै सीमित हुन पुग्छ ।

चलचित्रले ‘झ्याल’लाई केवल भौतिक संरचना नभई मानिसहरूबिचको दूरी, चाहना र अपूरा सम्बन्धको प्रतीकका रूपमा प्रस्तुत गरेको छ । निर्देशक जोशीका अनुसार चलचित्रले महामारीलाई केवल त्रासदीका रूपमा नभई मानिसहरूले आफ्ना भावना र सम्बन्ध पुनः खोज्ने संवेदनशील समयका रूपमा चित्रण गर्ने प्रयास गरेको छ ।

चलचित्रमा उषा रजक, अभिषेक फुयाँल तथा स्वयं निर्देशक भीष्म जोशीको अभिनय रहेको छ । नारायण जिसीको छायांकन रहेको फिल्ममा बिकेन कार्कीको सम्पादन रहेको छ ।

फिल्मलाई संगीतमय स्वरूप दिइएको छ। गीतका शब्द निर्देशक जोशीकै हुन् भने संगीत सुविन सेन्चुरीले तयार पारेका छन् । समीक्षा दाहाल र प्रताप दासको स्वर रहेको गीतले चलचित्रको भावनात्मक पक्षलाई थप सशक्त बनाएको निर्माण टिमले जनाएको छ ।

यसअघि आर्ट घरले ‘कोठा’ र ‘समय र उमेर’ जस्ता संगीतमय लघु चलचित्र सार्वजनिक गरिसकेको छ ।