फिफा विश्वकप २०२६ तीन देशमा, १०४ खेलसहित अहिलेसम्मकै ठूलो संस्करण

फिफा विश्वकप २०२६ तीन देशमा, १०४ खेलसहित अहिलेसम्मकै ठूलो संस्करण


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । विश्व फुटबलको प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०२६ आगामी जुन ११ देखि जुलाई १९ सम्म संयुक्त रूपमा अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने भएको छ ।

यो २३औँ संस्करणको विश्वकप सुरु हुन एक महिनाभन्दा कम समय बाँकी रहँदा विश्वभरका फुटबल समर्थकको ध्यान प्रतियोगितातर्फ केन्द्रित भएको छ ।

यस पटकको संस्करणलाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ । पहिलो पटक तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्न लागेका छन् भने सहभागी टोलीको संख्या बढेर ४८ पुगेको छ । प्रतियोगिता ३९ दिनसम्म चल्नेछ र कुल १०४ खेल हुनेछ, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडाका १६ सहरमा सञ्चालन गरिनेछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ सहर समावेश छन् ।

खेलहरू विभिन्न समय क्षेत्रमा हुने भएकाले अन्तर्राष्ट्रिय दर्शकका लागि फरक-फरक समय निर्धारण गरिएको छ । नेपालमा भने समयान्तरका कारण अधिकांश खेल मध्यरातदेखि बिहानसम्म प्रसारण हुनेछन् । प्रत्यक्ष प्रसारण अधिकार हिमालय स्पोर्ट्स ले प्राप्त गरेको छ ।

केही प्रारम्भिक खेलहरू नेपाल समयअनुसार राति करिब ९:४५ र १०:४५ बजे सुरु हुने अपेक्षा गरिएको छ भने अधिकांश खेल मध्यरातपछि सञ्चालन हुनेछन् । उद्घाटन खेल, मेक्सिको र दक्षिण अफ्रिकाबीचको प्रतिस्पर्धा, नेपालमा राति १२:४५ बजे सुरु हुने तालिका छ ।

त्यसपछि अन्य खेलहरू नेपाली समयअनुसार बिहान १२:५ देखि ९:४५ बजेसम्म विभिन्न समयमा सञ्चालन हुनेछन्, जसले नेपाली दर्शकलाई रातभर फुटबलको रोमाञ्चकता प्रदान गर्नेछ ।