काठमाडौँ । फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ । भावनात्मक संवाद, पारिवारिक कथासँगै अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको अभिनयलाई लिएर सामाजिक सञ्जालमा राम्रो चर्चा भइरहेको छ ।
ट्रेलरमा प्रस्तुत प्रेम, विश्वास र सम्बन्धको द्वन्द्वले दर्शकको ध्यान तानेको छ । विशेषगरी विपीन कार्कीका भावुक संवाद र केकी अधिकारीको समर्पित पत्नीको भूमिकालाई धेरैले रुचाएका छन् ।
छोटो समयमै ट्रेलर मुभी चार्टको टप पाँचभित्र पनि पर्न सफल भएको छ । यसले फिल्मप्रति दर्शकको उत्साह र अपेक्षा बढ्दो रहेको संकेत गरेको छ ।
ट्रेलरमा पारिवारिक सम्बन्ध, प्रेम, त्याग र विश्वासलाई भावुक शैलीमा प्रस्तुत गरिएको देखिन्छ । विपीन कार्की र केकी अधिकारीको केमेस्ट्रीलाई दर्शकले विशेष रूपमा रुचाएका छन् । ट्रेलर हेर्दा फिल्मले प्रेमको सुन्दर पक्षसँगै सम्बन्ध बचाउन मानिसले भोग्ने संघर्षलाई पनि मुख्य विषय बनाएको अनुमान गर्न सकिन्छ ।
ट्रेलरको सबैभन्दा बलियो पक्ष यसको भावनात्मक प्रस्तुति हो । ट्रेलरका संवादहरू चर्को वा बनावटी लाग्दैन । ती वास्तविक जीवनसँग नजिक महसुस लाग्छन् । जसमा ग्रामीण र मध्यमवर्गीय नेपाली परिवारको परिवेशलाई राम्रोसँग प्रस्तुत गरिएको देखिन्छ । संवादअनुसारको कलात्मक छायांकन र ब्याकग्राउन्ड म्युजिकले पनि भावनात्मक दृश्यहरूलाई अझ प्रभावकारी बनाएको छ ।
ट्रेलरमा अभिनेता विपीनले बोलेको संवाद ‘भगवानले बा–आमा त दिएनन्, तर यिनीलाई दिए’ ले पात्रभित्रको अभाव, एक्लोपन र पत्नीप्रतिको गहिरो प्रेमलाई देखाउँछ । त्यस्तै अभिनेत्री केकीको ‘बरु भगवानबाट गल्ती हुन्छ, मेरो काजीबाट हुँदैन’भन्ने संवादले श्रीमानप्रतिको अटुट विश्वास झल्काएको छ ।
‘कजिनीले फेरि यस्तै चित्त दुखाउने कुरा सुन्नुपर्यो भने म सबै छोडेर जान्छु’ भन्ने संवादमार्फत काजीको पात्र सम्बन्ध जोगाउन जुनसुकै हदसम्म जान तयार रहेको देखिन्छ । अर्कोतर्फ, ‘एउटा झुटले मेरो सम्बन्ध बाँच्छ भने बरु पाप लागे पनि लागोस्’ भन्ने संवादले कथामा आउने भावनात्मक र नैतिक द्वन्द्वको संकेत गरेको छ।
फिल्म आगामी जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनमा हुँदैछ । फिल्मलाई निकै अपेक्षाको रुपमा हेरिएको छ । काजी र कजिनी बनेका विपीन र केकीसहित फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारले अभिनय गरेका छन् ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।
फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् । प्रदीप भारद्धाजको कथा लेखन रहेको फिल्मका निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका छन् ।
असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्म चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतरजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको साउण्ड डिजाइनर र सुजिल कर्माचार्यको पार्श्व संगीत, प्रोडक्सन हेड प्रकाश हमाल, विपीन मल्लको सम्पादन, बनिश शाहको सुपरभाइजर सम्पादनमा बनेको छ ।
।
फिल्म श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्दैछ ।


प्रतिक्रिया