हुम्लामा लेदोसहितको भेलबाढीले विद्यालय बग्यो, घरगोठ पुरिए

हुम्लामा लेदोसहितको भेलबाढीले विद्यालय बग्यो, घरगोठ पुरिए


ग्लोब नेपाल
108
Shares

काठमाडौं । चंखेली गाउँपालिका–५ मा मंगलबार राति परेको भीषण असिनापानीपछि आएको लेदोसहितको भेलबाढीले विद्यालय तथा घरगोठमा क्षति पुर्‍याएको छ । स्थानीयका अनुसार गाउँमाथिको भिरालो क्षेत्रबाट आएको भेलले डाँफे आधारभूत विद्यालय बगाएको हो ।

बाढीका कारण केही घरगोठ पुरिनुका साथै भेडाबाख्रा पनि पुरिएको प्रारम्भिक जानकारी आएको छ । वडाध्यक्ष हर्कधन तामाङले राति ठूलो असिनापानी परेपछि अचानक भेलबाढी आएको जानकारी दिएका छन् । उनका अनुसार हालसम्म मानवीय क्षतिको खबर प्राप्त भएको छैन ।

गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले घटनापछि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको बताए । दुर्गम भूगोल र कठिन बाटोका कारण घटनास्थल पुग्न समय लाग्ने उनले जानकारी दिए । स्थानीय तहले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र जोखिमपूर्ण स्थानमा नजान आग्रह गरेको छ ।

अहिले वर्षा रोकिए पनि थप पहिरो र बाढीको जोखिम कायम रहेको जनाइएको छ ।