क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित



दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ ।

लस एन्जलसबाट करिब ३० माइल (४८ किलोमिटर) उत्तर–पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको हो । सुक्खा झाडी क्षेत्रमा सुरु भएको आगलागी बिस्तारै बस्ती नजिक पुगेपछि स्थानीय प्रशासनले आपतकालीन कदम चालेको हो ।

भेन्टुरा काउन्टी अग्नि विभागका अनुसार मङ्गलबार बिहानसम्म आगलागीले दुई वर्गमाइल (करिब पाँच वर्गकिलोमिटर) भन्दा बढी क्षेत्रफल जलेको छ भने कम्तीमा एउटा घर पूर्ण रूपमा नष्ट भएको छ। प्रारम्भिक चरणमा आगलागी ३० माइल प्रतिघण्टा (४८ किलोमिटर प्रतिघण्टा) को गतिमा फैलिएको थियो । तर रातभर हावाको गति केही कम भएपछि नियन्त्रण प्रयासमा राहत मिलेको अग्नि विभागका प्रवक्ता एन्ड्र्यु डाउडले बताएका छन ।

उनका अनुसार अनुकूल मौसमका कारण अग्नि नियन्त्रक टोलीले केही प्रगति गरे पनि हावा फेरि तीव्र हुन सक्ने जोखिम कायमै रहेको छ । हालसम्म आगलागी करिब पाँच प्रतिशत मात्र नियन्त्रणमा आएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।

सिमी भ्याली क्षेत्रमा एक लाख २५ हजारभन्दा बढी जनसङ्ख्या रहेको बस्ती वरिपरि अझै पनि निकासी आदेश र चेतावनीहरू कायम छन् । बाक्लो धुवाँका कारण क्षेत्र धुम्मिएको छ भने अग्नि नियन्त्रकहरूले हवाईमार्फत पानी खसालेर आगो नियन्त्रण गर्ने प्रयास जारी राखेका छन् ।