घुससहित प्रमुख प्रशासकीय अधिकृत यादव नियन्त्रणमा

घुससहित प्रमुख प्रशासकीय अधिकृत यादव नियन्त्रणमा


ग्लोब नेपाल
0
Shares

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससहित नियन्त्रणमा परेका छन् ।

सडक ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार टोलीले यादवलाई सेवाग्राहीबाट ७२ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । साथै उनको साथबाट स्रोत नखुलेको ८३ हजार १४५ रुपियाँ, ल्यापटप १ थान, मोबाइल २ थान तथा अन्य सरकारी कागजातसमेत बरामद गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।

नियन्त्रणका क्रममा यादव सवार सरकारी नम्बर प्लेटको सवारी साधनसमेत जिल्ला महोत्तरीको गौशाला नगरपालिका–५ निगौलस्थित सम्सी–गौशाला सडक खण्डको गौशालातर्फ जाँदै गर्दा नियन्त्रणमा लिइएको हो । अख्तियारका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।