इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति

इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति

इरानसँगको वार्ता जारी रहेको ट्रम्पको दाबी



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हिजबुल्लाहबीच युद्धविरामका लागि सहमति भएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ट्रम्पले इरानसँगको वार्ता पनि तिब्र गतिमा अगाडि बढिरहेको बताएका हुन् ।

लेबनानमा इजरायली सैन्य कारबाहीको विरोध गर्दै तेहरानले मध्यस्थकर्ताहरूमार्फत वासिङ्टनसँग भइरहेको सन्देश आदानप्रदान प्रक्रिया स्थगित गरेको बताएको केही घण्टापछि ट्रम्पको यो टिप्पणी सार्वजनिक भएको हो ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्,‘इरानसँगको वार्ता तीव्र गतिमा जारी छ।’ उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोन वार्ता भएको र हिजबुल्लाहका प्रतिनिधिहरूले पनि सन्देश पठाएको उल्लेख गर्दै दुवै पक्ष शत्रुतापूर्ण सैन्य गतिविधि रोक्न सहमत भएको दाबी गरे।

इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको संवाद अत्यन्तै फलदायी रहेको उल्लेख गर्दै ट्रम्पले इजरायलले लेबनानको राजधानी बेरुतमा सेना नपठाउने समेत स्पष्ट पारे । यसअघि आईतवार इजरायलले दक्षिण लेबनानको रणनीतिक महत्त्वको ब्युफोर्ट रिज र त्यसको टाकुरामा रहेको ऐतिहासिक किल्ला कब्जा गरेको दाबी गरेको थियो । यो क्षेत्र युद्धविराम सम्झौतापछि इजरायलले कायम राखेको सुरक्षा क्षेत्र भन्दा बाहिर पर्दछ ।

सञ्चारमाध्यमहरूका अनुसार २० वर्षभन्दा बढीको अवधिमा लेबनानमा इजरायलको यो सबैभन्दा गहिरो सैन्य प्रवेश हो । इजरायलको यस कदमको अरब राष्ट्रहरूका साथै फ्रान्स, जर्मनी र संयुक्त अधिराज्य (यूके) ले निन्दा गरेका छन् ।