काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट) को बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुने जानकारी दिएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट स्पष्टिरकण दिँदै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल र भारतबीचको समन्वय, सहकार्य तथा साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रहरूलाई पुनः सक्रिय बनाइएको बताए । ती संयन्त्रहरूको नियमित बैठकले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा साझा सम्भावना र सहकार्यका विषयमा छलफल गर्न महत्त्वपूर्ण भूमिका मन्त्री खनालको विश्वास छ ।
उनले नेपाल–भारत सीमा क्षेत्रमा हराएका सीमा स्तम्भहरूको मर्मत, पुनर्स्थापना तथा पुनर्निर्माणको काम अघि बढिरहेको जानकारी पनि दिए । उनले हाल संयुक्त फिल्ड सर्वे टोलीले विभिन्न स्थानमा स्थलगत काम गरिरहेको र यसका लागि चार वटा छुट्टाछुट्टै टोली परिचालन गरिएको बताए ।
उनले भने ‘दुई देशबीचको समन्वय, सहकार्य र साझेदारीलाई अझै बलियो बनाउनको लागि दर्जनौँ संयन्त्रहरू रहेका छन् । यसमध्ये केही संन्त्रहरु पछिल्लो समय क्रियाशील नरहेको पनि देखिन्छ । यस्ता संयन्त्रहरूको नियमित बैठकले नेपाल भारतबीच रहेका सम्भावना र सहकार्यका विषयमा छलफल गरी दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । नेपाल–भारतका विभिन्न क्षेत्रमा काम गर्नेगरी स्थापना गरिएका ती द्विपक्षीय संयन्त्रहरूको बैठक हाल सुचारु भएका छन् । ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेमेन्टको बैठक अगस्ट २०२६ मा आयोजना हुँदै छ । हाल जोइन्ट फिल्ड सर्वे टिमले विभिन्न स्थानमा काम गरिरहेको छ । यस संयन्त्रलाई दिएको जिम्मेवारीबमोजिम हराएको सीमा स्तम्भ मर्मत, पुनर्स्थापना र पुनर्निर्माण गर्ने कार्यहरू अगाडि बढेका छन् । हाल चार वटा छुट्टाछुट्टै टोली गठन भई नेपाल भारत सीमाका विभिन्न क्षेत्रमा काम भइरहेको छ ।’
उनले क्रस बोर्डर अकुपेशनसहितका विभिन्न विषयमा नेपाल र भारत दुवैतिरका सयन्त्रहरुले काम गरिरहेको बताए ।


प्रतिक्रिया