बोल्ने अवसर नपाएको भन्दै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ

बोल्ने अवसर नपाएको भन्दै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बोल्न समय नपाएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका छन्।

यसअघि आफ्नै स्थानबाट विरोध जनाएका पार्टीका सांसदहरूले सबै विपक्षी दललाई धारणा राख्न अवसर दिइएको अवस्थामा आफूहरूलाई भने समय उपलब्ध नगराइएको भन्दै सभामुखसँग असन्तुष्टि व्यक्त गरेका थिए।

पार्टीका अध्यक्ष हर्क साम्पाङले अन्य दलका प्रतिनिधिलाई बोल्न दिँदा आफ्नो दललाई किन अवसर नदिइएको भन्ने प्रश्न उठाएका थिए। त्यसको जवाफमा सभामुख डीपी अर्यालले सम्बन्धित दलको तर्फबाट बोल्न चाहने सदस्यको नाम टिपोट नभएको र त्यसैले समय दिन नसकिएको बताएका थिए।

सभामुखले बैठकका क्रममा श्रम संस्कृति पार्टीका सांसदहरूले मन्त्रीको सम्बोधनका बेला पनि निरन्तर विरोध जारी राखेकाले बोल्ने समय उपलब्ध गराउन नसकिएको उल्लेख गरेका थिए। साथै, अध्यक्ष साम्पाङले प्रयोग गरेका केही शब्द संसदीय मर्यादाअनुकूल नभएको उनको भनाइ थियो।

सभामुखले नियमित कार्यसूची अगाडि बढाउन खोजेपछि श्रम संस्कृति पार्टीका सांसदहरू रोष्ट्रमतर्फ पुगेर विरोधमा उत्रिएका थिए। उनीहरूले सभामुखले विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै नाराबाजीसमेत गरेका छन्।