कांग्रेस संस्थापन पक्षबाट ७ बुँदे खाका आएको डा. महतको भनाइ

कांग्रेस संस्थापन पक्षबाट ७ बुँदे खाका आएको डा. महतको भनाइ


ग्लोब नेपाल
810
Shares

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संस्थापनले पार्टीभित्रको सहमतिका लागि पठाएको ७ बुँदे खाका आइपुगेको खुलासा गरेको छ । यद्यपि त्यो पर्याप्त नभएको बताइएको छ ।

कांग्रेसका निवर्तमान प्रवक्ता तथा इतर समूहका नेता डा. प्रकाशशरण महतले आज बिहान आफ्नै निवास बाँसबारीमा पत्रकार सम्मेलन गर्दै संस्थापनको ७ बुँदे सहमतिको खाका आइपुगेको बताएका हुन्। तर त्यो सहमतिका लागि पर्याप्त नभएको उनको भनाइ थियो ।

१५औँ महाधिवेशन स्वच्छ निष्पक्ष र धाँधली रहित रूपमा सम्पन्न गर्नका लागि १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मिलाएर संयन्त्र निर्माण गर्नुपर्ने उनले बताए । त्यो संयन्त्र निर्माण गर्नका लागि संस्थापन पक्ष तयार नरहेकाले आशङ्का उब्जिएको उनको भनाइ छ।

क्रियाशील सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति, विधान संशोधन समिति दुवै पक्षको सहमतिमा बनाउनुपर्ने उनको भनाइ छ। पार्टीका नेता कार्यकर्ताहरू प्रतिनिधि सभा निर्वाचनको नतिजा र अहिलेको पार्टीभित्रको विवादले गर्दा निराश रहेको भन्दै त्यसलाई चिर्न एकता गर्ने पहल कदमी संस्थापनले लिनुपर्ने उनको भनाइ छ ।

अहिलेसम्म संस्थापनबाट त्यो पहल भएको अनुभूति आफूले नगरेको डा. महतले बताए । ७ बुँदेमा भागबन्डाका कुरा रहेको तर आफूहरू भागबन्डा नभएर निष्पक्ष महाधिवेशनको पक्षमा रहेको पनि डाक्टर महतले बताए।