हर्क साम्पाङलाई टक्कर दिएकी गोमा तामाङद्वारा रास्वपा परित्याग

हर्क साम्पाङलाई टक्कर दिएकी गोमा तामाङद्वारा रास्वपा परित्याग


ग्लोब नेपाल
0
Shares

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ गोमा तामाङ ‘सरिन’ले पार्टी परित्याग गरेकी छन् । कोशी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरेकी हुन् ।

फेसबुकमा स्ट्याटस लेख्दै तामाङले भनिन्, ‘आजदेखि राजनीतिबाट बिट मारें । मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा तामाङ सभापति पदकी उम्मेदवार थिइन् ।

मतगणनामा उनले १४१ मत प्राप्त गरिन्। निर्वाचनमा चन्द्र राई २८० मतसहित विजयी भए भने खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गरे । तामाङ रास्वपाको कोशी प्रदेश संगठन निर्माणमा सुरुदेखि सक्रिय रहँदै आएकी नेतृ हुन् । उनी प्रदेश समितिकी संस्थापक सदस्य तथा कार्यवाहक सभापतिको भूमिकामा समेत रहेकी थिइन् ।

प्रदेश अधिवेशनको नतिजापछि पार्टी र सक्रिय राजनीति दुवै छाड्ने घोषणा गरेकी तामाङ यसअघि प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवार बनेकी थिइन् ।