काठमाडौं महानगरपालिकाले युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने

काठमाडौं महानगरपालिकाले युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने


ग्लोब नेपाल
324
Shares

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले युवा केन्द्रित स्वरोजगार कार्यक्रम, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम मार्फत काठमाडौं महानगर सो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन लागेको हो ।

नगर सभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपांगता भएका व्यक्ति, दलित, संरक्षणविहीन व्यक्ति, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक, एकल महिला, सहिदका परिवार लगायत पछाडि परेका समुदायको विकासका लागि लक्षित वर्गमैत्री सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

एक वडा एक नमुना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा दिगोपना सुनिश्चित हुने गरी एक वडा एक नमुना कार्यक्रमलाई संस्थागत गरिनेछ । ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान सञ्चालन गरी ज्येष्ठ तथा अशक्त नागरिकको घरमै स्वास्थ्य तथा परामर्श सेवा नि:शुल्क उपलब्ध गराइनेछ । ७५ वर्ष उमेर पुरा भएका वरिष्ठ ज्येष्ठ नागरिकहरू तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइनेछ।’

महानगरपालिकाले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त काठमाडौँको घोषणालाई साझेदार निकायहरूको समन्वय र सहकार्यमा प्रभावकारी कार्यान्वयन गरी ‘मानवीयताको सहर’ भन्ने मूल सन्देशलाई कार्यान्वयन गर्ने, काठमाडौं महानगरपालिकाले आधुनिक तथा परम्परागत ज्ञान, सीप तथा कलाको प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने प्रबन्ध गर्ने पनि उल्लेख गरिएको छ ।