६४ जिल्ला र ४ प्रदेशमा रास्वपाको संगठनात्मक नेतृत्व चयन

६४ जिल्ला र ४ प्रदेशमा रास्वपाको संगठनात्मक नेतृत्व चयन


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका अधिकांश तहमा संगठनात्मक अधिवेशन सम्पन्न गरेको जनाएको छ । हालसम्म ६४ जिल्लासहित चार प्रदेशमा नेतृत्व चयनको प्रक्रिया टुंगिएको पार्टीले जानकारी दिएको हो ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार ४ हजार ३६३ वटा वडा र ६०९ वटा पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ । यद्यपि, केही जिल्लामा आन्तरिक विवाद तथा विधानसम्बन्धी विषयका कारण अधिवेशन स्थगित वा बदर भएको अवस्था रहेको उनले बताए ।

अझै अधिवेशन हुन बाँकी रहेका जिल्लामा कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेश प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाही रहेका छन् ।

यस्तै, अधिवेशन प्रक्रिया सुरु भएर पनि विभिन्न कारणले रोकिएका जिल्लामा सिन्धुपाल्चोक, सिरहा, महोत्तरी र रौतहट परेका छन् ।

प्रदेश तहको अवस्थाबारे जानकारी दिँदै बुर्लाकोटीले सात प्रदेशमध्ये मधेश प्रदेशको अधिवेशन स्थगित रहेको, जबकि कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन प्रक्रिया जारी रहेको बताए ।

रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।