काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै फिफा विश्वकप– २०२६ को आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको छ । अमेरिकाको कान्सास सिटी रङ्गशालामा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।
साविक विजेता अर्जेन्टिनाका लागि कप्तान मेसीले यस सिजनको पहिलो ह्याट्रिक पूरा गरेका हुन् । यस सिजनको यसअघिका खेलहरूमा कुनै पनि खेलाडीले ह्याट्रिक पूरा गर्न सकेका छैनन् ।
मेसीले खेलको पहिलो हाफको १७औँ मिनेटमा अर्जेन्टिनाका लागि पहिलो गोल गरे । त्यस्तै खेलको ६०औँ मिनेटमा दोस्रो तथा खेलको ७६औँ मिनेटमा ह्याट्रिक पूरा गरे । जितसँगै समूह ‘जे’मा रहेको अर्जेन्टिनाले तीन अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।
१७ औं मिनेटमा उनले गोल गर्दा उनी निक्कै भावुक बनेका थिए । उनका आँखा रसाएका थिए । छैटौं पटक विश्वकप खेल्दै कीर्तिमान बनाएका मेसीले विश्वकपमा पहिलो पटक ह्याट्रिक गरे । मेस्सीले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । साथै उनले विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरे ।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । उनले सन् २०१० को विश्वकपबाहेक पाँच विश्वकपमा गोल गरेका छन् । चार वर्षअघि कतारमा मेस्सीले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए ।


प्रतिक्रिया