काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई ३ दिनभित्र हाजिर हुन पत्र लेखेको छ । विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई–पासपोर्ट) खरिद प्रकरणमा अनुसन्धानको लागि अख्तियारले डा. राणालाई हाजिर हुन पत्र काटेको हो ।
सोमबार अख्तियारका अधिकारीहरु,परराष्ट्र मन्त्रालयका सचिव,राहदानी विभागका महानिर्देशक, निर्देशकलगायतलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर ‘कडा’ हप्किदप्की गरेको भोलिपल्ट विदेशमा रहेकी राणालाई बयानका लागि उपस्थित हुन पत्र पठाइएको छ ।
हङकङमा रहेकी राणालाई तत्कालीन विभागीय मन्त्रीको हैसियतमा उक्त प्रकरणमा जवाफ दिन तीन दिने पुर्जी काटिए पनि इमेलबाट आफू विदेशमा रहेकाले तोकिएको समयमा उपस्थित हुन नसक्ने जवाफ पठाएकी छन् । उनले स्वदेश आएपछि मात्रै आयोगमा उपस्थित हुनसक्ने जवाफ फर्काएको बताइन्छ ।
राहदानी विभागका महानिर्देशक र निर्देशकलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर अनौपचारिक बयान लिएपछि राणालाई पत्र लेख्न अख्तियारलाई दबाब दिइएको स्रोतको दाबी छ । राहदानी छपाइ प्रकरणमा विभागीय मन्त्रीले कतै हस्ताक्षर गरेको कागजात फेला नपरेको प्रारम्भिक अनुसन्धानबाट पहिले नै निर्क्यौल भइसकेको बुझिएको छ ।
यसअघि सम्पत्ति शुद्धिकरण विभागबाट अनुसन्धान थालिए पनि आरजूमाथि मुद्दा चलाउन प्रमाण नपुगेपछि देउवा दम्पत्ति साउन २८ गतेभित्र नेपाल फर्कने तयारीमा छ । सोही अवस्थालाई ध्यानमा राखेर पासपोर्ट ‘प्रकरण’मा उनलाई पत्र लेख्न अख्तियारलाई दबाब दिइएको स्रोतले बतायो ।


प्रतिक्रिया