काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ परेका छन् । व्यवसायी दीपक भट्टसँग जोडिएको आर्थिक कारोबार, सेयर खरिद–बिक्री र सम्भावित व्यावसायिक लाभसम्बन्धी विषयमा अनुसन्धानका लागि उनलाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिइएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैँसेपाटीस्थित उनको निवासमा छापा मारेको प्रशासन स्रोतले जनाएको छ । विभागसम्बद्ध स्रोतका अनुसार छापाका क्रममा केही कागजात नियन्त्रणमा लिइएको छ । पौडेलको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान अघि बढाइएको विभागीय स्रोतको भनाइ छ ।
अनुसन्धान निकायका अनुसार पौडेलमाथि भट्टसम्बद्ध कम्पनीलाई लाभ पुग्ने गरी सेयर कारोबारमा प्रभाव पारेको आरोप छ । प्रारम्भिक अनुसन्धानमा एक व्यापारीलाई भट्टसँग सम्बन्धित कम्पनीलाई कम मूल्यमा सेयर बिक्री गर्न दबाब दिइएको विवरण आएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उक्त कारोबारसँग जोडिएर सरकारी तहबाट केही सुविधा उपलब्ध गराउने आश्वासन दिइएको विषय पनि अनुसन्धानको दायरामा राखिएको छ । पौडेल अर्थमन्त्री रहेका बेला तीमध्ये केही काम अघि बढेको र केही विषय बाँकी रहेको बयानमा खुलेको अनुसन्धान पक्षको दाबी छ ।
विभागसम्बद्ध स्रोतका अनुसार पौडेलमाथि राज्य संयन्त्रमा रहँदा विभिन्न व्यापारिक तथा स्वार्थ समूहको हित हुने गरी काम गरेको र त्यसपछि विभिन्न माध्यमबाट लाभ लिएको आरोपसमेत छ । ‘हामीले कतिपय व्यक्तिहरूमाथि अनुसन्धान गरी प्रमाण संकलन गर्दा उहाँको बारेमा पनि सूचनाहरू भेटेका थियौं, ती व्यक्तिहरुविरुद्ध मुद्दा चल्दा नै थप अनुसन्धान हुँदैछ भनेर अदालतमा जानकारी गराइएको हो,’ विभागसम्वद्ध स्रोतले भन्यो, ‘त्यसैको सिलसिलामा थप अनुसन्धानका लागि पक्राउ गरिएको हो ।’
पौडेल एमालेको आन्तरिक कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका हुन् । एमालेले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेका बेला उनी सुर्खेत पुगेका थिए । प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि उनलाई स्थानीय शुभ होटलबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीले पौडेललाई होटलबाट जिल्ला प्रहरी कार्यालय सुर्खेत पुर्याएको थियो । त्यसपछि उनलाई गाडीमार्फत नेपालगञ्जतर्फ लगिएको छ । विभागका अनुसन्धान अधिकारीहरूले उनलाई काठमाडौँ ल्याएर हिरासतमा राख्ने र मंगलबार म्याद थपका लागि विशेष अदालतमा पेश गर्ने तयारी गरेका छन् । हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्ने मुद्दा विशेष अदालतमा दायर हुने व्यवस्था छ ।
यस प्रकरणमा यसअघि नै व्यवसायी भट्ट, शंकर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन रि–इन्स्योरेन्ससँग सम्बन्धित व्यक्तिहरूमाथि विभिन्न कसुरमा मुद्दा दायर भइसकेको छ । धितोपत्र, बिमा, बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फरक–फरक अदालतमा दर्ता भएका छन् ।
जिल्ला अदालत काठमाडौँमा धितोपत्र तथा बिमा कसुरसम्बन्धी मुद्दा दायर भएको छ भने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतमा पुगेको छ । उच्च अदालत पाटनमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको छ । यही आर्थिक कारोबार शृंखलासँग जोडिएको विषयमा पौडेलको भूमिका अनुसन्धानमा तानिएको विभागीय स्रोतको भनाइ छ ।
पूर्वअर्थमन्त्री पौडेल एमालेका वरिष्ठ नेतामध्येका एक हुन् । उनी आठ पटक मन्त्री भइसकेका छन् । पाँच पटक अर्थमन्त्री बनेका पौडेल तीन पटक उपप्रधानमन्त्रीसहित मन्त्री भएका थिए ।
संघीय संसद् सचिवालयको विवरणअनुसार पौडेल २०५३ साल चैतमा युवा, खेलकुद तथा संस्कृतिमन्त्री बनेका थिए । २०६५ साल भदौमा जलस्रोत मन्त्री बनेका उनी २०६७ साल चैतमा रक्षामन्त्री भएका थिए । पौडेल २०७२ कात्तिकमा पहिलो पटक अर्थमन्त्री बनेका थिए । त्यसपछि उनी २०७७ असोज, २०७८ जेठ, २०७९ पुस र २०८१ असारमा अर्थमन्त्री बने ।
२०८१ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पौडेल अर्थमन्त्री थिए । उक्त आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछिको राजनीतिक परिवेशमा भएको २०८२ फागुन २१ को चुनावमा पौडेल रूपन्देही–२ बाट पराजित भएका थिए । त्यसयता उनी संसद्बाहिर छन् ।
पौडेल २०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०५६ सालमा रूपन्देहीबाट चुनाव लडे पनि पराजित भए । २०६४ सालको संविधानसभा निर्वाचनदेखि उनी रूपन्देहीबाट संसदीय यात्रामा सक्रिय थिए । २०७० सालमा रूपन्देही–४ बाट विजयी भएका उनी २०७४ र २०७९ सालमा रूपन्देही–२ बाट निर्वाचित भएका थिए ।
२०३४ सालदेखि कम्युनिस्ट राजनीतिमा संलग्न पौडेल एमालेको उपाध्यक्ष हुन् । उनी २०७५ साल जेठ ३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको महासचिवसमेत बनेका थिए । पछिल्लो समय उनी चुनावपछि एमाले कमजोर बनेको भन्दै पार्टी पुनर्गठन अभियानमा सक्रिय थिए ।
पौडेल पक्राउ परेपछि एमालेले आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै पार्टीको सांगठनिक कार्यक्रममा रहेका नेतालाई सरकारले प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको आरोप लगाएका छन् । एमालेले सरकारको कदमलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भनेको छ ।
अनुसन्धान निकायले भने पक्राउलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान प्रक्रियाकै हिस्सा बताएको छ । पौडेलमाथि आर्थिक कारोबारमा मध्यस्थता, सरकारी निर्णयमार्फत लाभ दिलाएको आशंका, सेयर कारोबार र सम्भावित सम्पत्ति व्यवस्थापनसम्बन्धी विषयमा थप अनुसन्धान हुने जनाइएको छ ।


प्रतिक्रिया