अर्जेन्टिना, फ्रान्स र नर्वे नकआउट चरणमा, मेस्सीको कीर्तिमान

अर्जेन्टिना, फ्रान्स र नर्वे नकआउट चरणमा, मेस्सीको कीर्तिमान


ग्लोब नेपाल
216
Shares

काठमाडौं । जारी विश्वकप फुटबल प्रतियोगितामा मंगलबार भएका खेलमा अर्जेन्टिना, फ्रान्स र नर्वे विजयी भए । यी तीनवटै टोली नकआउट चरणमा प्रवेश गरेका छन् । अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोल, फ्रान्सले इराकलाई ३–० र नर्वेले सेनेगललाई ३–२ ले पराजित गरेका हुन् ।

कप्तान लियोनल मेस्सीको २ गोलको मद्दतमा अर्जेन्टिनाले अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गरेको हो । अमेरिकाको डालास स्टेडियममा मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै आफनो देशको जित सुनिश्चित गरे । जितसँगै अर्जेन्टिनाका कप्तान मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

मेस्सीले आजको खेलसँगै विश्वकपमा १८ गोल गरिसकेका छन् । यसअघि अल्जेरियाविरुद्धको पहिलो खेलमा अर्जेनिन्टना विजयी हुँदा मेस्सीले ह्याट्रिक गोल गरेका थिए । समूह ‘जे’ मा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै ६ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यता, साविक उपविजेता फ्रान्सले फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले पराजित गरेको छ । खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफको खेल सकिँदा भारी वर्षा भएपछि २ घण्टा खेल रोकिएको थियो । ५४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

उस्मान डेम्बेलेले ६६औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई तेब्बर बनाए । खेलमा इराकविरुद्ध फ्रान्स हाबी बन्यो । फ्रान्स २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ ।

यस्तै न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हो । खेलको ४३औं मिनेटमा मार्कस मार्कस होल्मग्रेन पेडरसनले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाएका थिए । नर्वेका एर्लिङ हाल्यान्ड ४८औं मिनेटमा गोल गर्दै टोलीलाई २ गोलको अग्रता दिलाए ।

५३औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई खेल फर्काउने कोसिस गरे । तर, ५८औं मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दा नर्वेको अग्रताको दुरी बढाए । दोस्रो हाफको इन्जुरी समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दे खेलमा फर्किएपनि सफल हुन सकेनन् ।

२८ वर्षपछि विश्वकपमा खेलेको नर्वे एक खेलअगावै नकआउट चरण प्रवेश गरेको हो । नर्वेले पछिल्लोपटक सन् १९९८ मा भएको विश्वकप खेलेको थियो । त्यसयता छनोट हुन सकेको थिएन ।

जितपछि नर्वे ६ अंकसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ । समान ६ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । दुवै खेलमा पराजित भएका सेनेगल र इराक अंकविहीन छन् ।