काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भई हाल होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिनभित्र होल्डिङ सेन्टर खाली गरी आफ्नो बसोबास आफैँ व्यवस्थापन गर्न निर्देशन दिएको छ। प्रशासनले यही असार १२ गतेभित्र उक्त स्थान खाली गरिसक्न समयसीमा तोकेको छ।
विस्थापितहरूको पुनर्स्थापनाका लागि सरकारले राहत प्याकेजको प्रक्रिया अघि बढाएको छ। गत जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार पुनर्स्थापनाका लागि प्रतिपरिवार एकमुष्ट २५ हजार रूपैयाँ प्रदान गरिनेछ। यसका लागि सम्बन्धित व्यक्तिले प्रक्रिया पुर्याएर निवेदन दिनुपर्नेछ र सो रकम सिधै लाभग्राहीको बैंक खातामा पठाइने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।
साथै, सरकारले वैकल्पिक बसोबासका लागि ३ महिनासम्म घरभाडा उपलब्ध गराउने निर्णय गरेको छ। यसअन्तर्गत ५ सदस्यीय परिवारलाई मासिक १५ हजार रूपैयाँ र ५ जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा प्रत्येक थप सदस्यका लागि मासिक २ हजार रूपैयाँका दरले रकम प्रदान गरिनेछ। घरभाडाबापतको यो रकम किस्ताबन्दीमा उपलब्ध गराइने प्रशासनले जानकारी दिएको छ। तोकिएको समयसीमाभित्र स्व-व्यवस्थापनका लागि प्रक्रियामा आउन प्रशासनले सम्बन्धित सबैलाई सूचित गरेको छ।


प्रतिक्रिया