रास्वपाको भोटिङ मेसिनमै सेटिङको आरोप, शीर्ष १० मा को–को ?

रास्वपाको भोटिङ मेसिनमै सेटिङको आरोप, शीर्ष १० मा को–को ?


ग्लोब नेपाल
216
Shares

काठमाडौं । चितवनमा जारी सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ढिला गरी सुरू भएको निर्वाचन नै विवादित बनिरहेको छ । थुप्रै उम्मेदवारहरूले भोटिङ मेसिनमा कायम गरिएको क्रमसंख्यामा चलखेलको आरोप समेत लगाएका छन् ।

केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा तीन सयभन्दा बढी उम्मेदवारले विभिन्न क्लस्टरबाट भाग लिएका थिए । भोटिङमा भने क्लस्टरअनुसार नभएर सोलोडोलो एउटै क्रममा सबैलाई राखिएको एक प्रतिनिधिले जानकारी दिए । ती प्रतिनिधिका अनुसार यसरी राख्दा न वर्णानुक्रम अनुसार छ, न पार्टीको वरीयता अनुसार ।

सबै उम्मेदवारहरू भोटिङ मेसिनमा आफ्नो नाम अगाडि आओस् भन्ने चाहन्छन् । यसले मतदातालाई मनोवैज्ञानिक प्रभाव पार्ने उनीहरूको बुझाइ छ । भोट हाल्दै जाँदा कोटा सकियो भने पछाडि नाम भएकाहरु मतदाताले चाहेर पनि छुट्न सक्छन् । ती प्रतिनिधिका अनुसार भोटिङ मेसिनमा सुरुवातमा चर्चित नेताहरूका नाम छन् ।

डा. स्वर्णिम वाग्लेको नाम पहिलो नम्बरमा रहेको छ । पार्टीको एकमात्र उपसभापति तथा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनपछिको वरीयतामा रहेको हुँदा उनको नाममा पहिलो नम्बरमा राखिएको मतदाताले बुझे । वाग्लेपछि दोस्रोमो गणेश पराजुली र तेस्रोमा मनिष झाको नाम छ ।

चौथोमा सोविता गौतम र पाँचौमा विपीन आचार्य छन् । उनीहरू सबै शीर्ष तहकै नेता हुन् । वरीयता यताउति भए पनि उनीहरूलाई टप ५ मा राख्दा अन्य उम्मेदवारहरूको गुनासो छैन । छैटौं नम्बरमा शंकर श्रेष्ठ छन् । उनी रास्वपाको संगठन विभागका सचिव हुन् ।

उनले सहमहामन्त्रीमा आकांक्षा राखिरहेका छन् । पार्टीका साविक महामन्त्री कवीन्द्र बुर्लाकोटीभन्दा शंकर अगाडि कसरी आए भन्ने प्रश्न उठेको छ । त्यसपछाडि वरियता भताभुंग भएको छ । सातौंमा कवीन्द्र र आठौंमा क्रान्तिशीखा धितालको नाम छ । कमैले चिनेका गुणानन्द महतो नवौं र शिशिर खनाल दशौं नम्बरमा छ ।