भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु



उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ । कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब चार हजार ३०० जना घाइते भएका छन् । भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ ।

संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएका, चर्किएका र ढलेका छन् । बिहीबारसम्म पनि शक्तिशाली परकम्पहरू महसुस भइरहेका छन् ।

स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोले मृतकको सङ्ख्या २३५ पुगेको जानकारी दिनुभएको छ । घाइतेहरूको सङ्ख्या निरन्तर बढिरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

सबैभन्दा बढी प्रभावित ला गुआइरा राज्यका विभिन्न क्षेत्रमा उद्धारकर्मी र स्थानीय बासिन्दाहरू भग्नावशेष हटाएर जीवित मानिसको खोजीमा जुटेका छन् । धेरै स्थानमा पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभाव देखिएको छ ।

काराकासको उत्तरस्थित एक बस्तीमा एक युवती घण्टौँसम्म उद्धारको प्रतीक्षा गर्दै सहयोगका लागि चिच्याइरहेकी थिइन् । स्थानीय बासिन्दा डानी रिजोले उद्धार टोली र सुरक्षाकर्मीको तत्काल आवश्यकता रहेको बताउनुभएको थियो । केही समयपछि ती युवतीको मृत्यु भएको स्थानीयवासीहरूले जानकारी दिएका छन् ।

ला गुआइराका अन्य क्षेत्रमा पनि भग्नावशेषभित्रबाट मानिसहरूको आवाज सुनिएको छ । स्थानीय बासिन्दा एन्टोनियो बर्मुडेजले आवश्यक उपकरण र उद्धार सामग्री नहुँदा असहाय बनेको बताए ।

डोमिङ्गो लुसियानी अस्पतालका एक चिकित्सकले नाम सार्वजनिक नगर्ने सर्तमा धेरै बालबालिका अभिभावकविहीन अवस्थामा अस्पताल पुगिरहेको जानकारी दिनुभयो । केही बालबालिकाले आफ्नो परिचय दिन सकेका छन् भने केहीको हातमा पहिचान पट्टी बाँधिएको अवस्थामा उनीहरूलाई एम्बुलेन्समार्फत ल्याइएको छ ।

एक उद्धारकर्मीले प्रशिक्षित जनशक्ति र आधुनिक उपकरणको अभावले उद्धार अभियान प्रभावित भएको बताए । प्रभावित क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएपछि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले ला गुआइराको भ्रमण गर्नुभएको छ ।

यसबीच केही स्थानमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीका पसलहरूमा लुटपाटसमेत भएको एएफपीका पत्रकारहरूले जनाएका छन् । भेनेजुएलाको अन्तर्राष्ट्रिय उद्धार समितिकी निर्देशक निकोल कास्टले अवस्थालाई अत्यन्त विनाशकारी बताए ।

भूकम्पपछि विश्वका विभिन्न देशहरूले सहयोगको प्रतिबद्धता जनाएका छन् । स्विट्जरल्यान्ड, स्पेन, फ्रान्स, पोर्चुगल र मेक्सिकोले विशेषज्ञ र उद्धार टोली पठाउने घोषणा गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले दुई युद्धपोत, यातायात विमान र हेलिकप्टर परिचालन गर्नुका साथै १५ करोड अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने जनाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्नो देशको प्रतिक्रिया तीव्र, प्रभावकारी र व्यापक हुने बताउनुभएको छ ।

जनवरीमा अमेरिकी सेनाको हस्तक्षेपपछि राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरी पक्राउ गरिएपछि भेनेजुएलामा वासिङ्टनको प्रभाव बढेको छ ।

चीन, भारत, ब्राजिल र युद्धग्रस्त इरानले पनि सहयोगको प्रस्ताव गरेका छन् । पोप लियो चौधौँले प्रारम्भिक एक लाख युरो सहायता घोषणा गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भेनेजुएलालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुख टम फ्लेचरले १२६ वर्षयताकै शक्तिशाली भूकम्पका कारण व्यापक अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताए ।

उद्धार र राहत कार्यलाई थप जटिल बनाउँदै ला गुआइरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि त्यसलाई बन्द गरिएको छ । मृतकमध्ये दुई ब्राजिलियाली, दुई चिनियाँ, एक इटालेली र एक पोर्चुगाली नागरिक रहेको सम्बन्धित देशहरूले पुष्टि गरेका छन् ।

क्यारिबियन र दक्षिण अमेरिकी टेक्टोनिक प्लेटको सीमामा अवस्थित भेनेजुएलाको उत्तरी तट भूकम्पीय दृष्टिले संवेदनशील मानिन्छ । सन् १९९७ मा आएको भूकम्पमा ७३ जनाको मृत्यु भएको थियो भने सन् १९६७ को भूकम्पमा २३६ जनाले ज्यान गुमाएका थिए । सन् १९०० को ७.७ म्याग्निच्युडको भूकम्पपछि अहिलेको ७.५ म्याग्निच्युडको भूकम्पलाई सबैभन्दा शक्तिशाली मानिएको छ ।

भूकम्पको धक्का छिमेकी कोलम्बियासम्म महसुस गरिएको थियो । बोगोटाका बासिन्दाहरूले सावधानीस्वरूप भवनहरू खाली गरेका थिए । उत्तरी ब्राजिलका धेरै सहरहरूमा पनि कम्पन महसुस भएको त्यहाँको भूकम्पीय निगरानी निकायले जनाएको छ ।

राजधानी काराकासमा पनि त्रासको वातावरण फैलिएको छ । धेरै नागरिकले सडक र गाडीमै रात बिताएका छन् । ६० वर्षीया रिटा गोमेज आफ्नी छोरी बस्ने भवन ढलेको सामाजिक सञ्जालमार्फत थाहा पाएपछि राजधानी पुग्नुभएको थियो ।

उनले उद्धारका लागि भारी उपकरण परिचालन गरिएको र स्थानीय बासिन्दाहरूले उल्लेखनीय सहयोग गरिरहेको बताउँदै आफ्नी छोरी जीवितै भेटिने आशा अझै कायम रहेको बताए ।