काठमाडौँ । कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भेटवार्ता भएको कोइरालाको सचिवालयले जनाएको छ । महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
तस्बिरसँगै उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा पार्टीका आदरणीय नेता डा. शेखर कोइरालासँग भेटघाट र छलफल ।’ महामन्त्री घिमिरे भारतबाट फर्किएपछि कोइरालालाई भेट्न पुगेका थिए ।
भारत जानुअघि पनि महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता भएको थियो । महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न १५औँ महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिए ।
घिमिरेले नेता कोइराला पार्टी एकताका लागि निकै सकारात्मक रहेको पनि बताए । उनले घिमिरेसँग सभापति गगन थापासँग दोस्रो पटक भेटघाट हुन नसकेको गुनासोसमेत गरेका छन् ।


प्रतिक्रिया