काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गरेका छन् ।
शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले रास्वपा पतन हुने दाबी गरेका छन् । उनले राप्रपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नको लागी आफूलाई बदल्नुपर्ने बताए ।
उनले पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे । जनताले राप्रपालाई ठूलो मत नदिएपनि देशमा राजनीतिक विकल्प आवश्यक पर्ने विश्वासका साथ राष्ट्रिय पार्टीका रूपमा जोगाइराखेको बताए । उनले पार्टीलाई राष्ट्रिय पार्टी बन्न नदिन विभिन्न प्रयास भएको दाबी गर्दै ती सबै चुनौतीका बाबजुद राप्रपा राष्ट्रिय पार्टीको हैसियतमा कायम रहेको बताए ।
आगामी दिनमा राप्रपा बलियो वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने उनको भनाई छ । उनले रास्वपाको पतनको प्रतीक्षा गरेर मात्रै राप्रपाको उदय नहुने पनि बताए । पार्टीले संगठन संरचना, कार्यशैली र गतिविधिमा व्यापक सुधार गरी जनतालाई ‘राप्रपा फेरिएको र सुध्रिएको’ सन्देश दिनुपर्ने उनको भनाइ छ । पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरी एकता, आपसी विश्वास र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
उनले नेताको पछि लाग्ने नभई जनतालाई साथमा लिएर पार्टीलाई बलियो बनाउन लाग्न नेता–कार्यकर्तालाई आह्वान गरे ।
उनले पार्टी कार्यकर्तालाई महाधिवेशनमा जुट्न पनि निर्देशन दिए । महाधिवेशन मंसिर २६, २७ र २८ गते तोकिएको समयमा नै हुने उल्लेख गर्दै उनले निर्वाचन तालिका अनुसार नै तल्लो तहको अधिवेशन गर्न आग्रह गरे ।


प्रतिक्रिया