न्युयोर्क । विश्वकप फुटबलअन्तर्गत सोमबार राति १०:४५ मा जापानसँग खेल्दा ब्राजिल बद्लाको मानसिकता बोकेर मैदान छिर्नेछ । प्रशिक्षक कार्लो एन्सोलेटीले ब्राजिलको प्रशिक्षक पद समालेको सुरुवाती समय सन् २०२५ को अक्टोबरमा भएको मैत्री खेलमा जापानले ब्राजिललाई ३–२ ले हराएको थियो ।
सो खेलमा ब्राजिलले दुई गोलको अग्रता बनाएर पनि पराजय बेहोरेको थियो । जापानले २० मिनेटको अन्तरालमा तीन गोल गरेर ब्राजिलविरुद्धको १४ खेलमा पहिलो पटक जित प्राप्त गरेको थियो । सो जितले विश्वकपमा ब्राजिलविरुद्ध खेल्दा जापानले उच्च मनोबलमा खेल्ने पक्का छ ।
इटालियाली प्रशिक्षक एन्सोलेटीले ब्राजिलको टिम समाल्न रियल म्याड्रिड छोड्का थिए । एन्सोलेटीको आगमनअघि ब्राजिल राम्रो अवस्थामा थिएन । दक्षिण अमेरिकी छनोटमा पाँचौँ स्थान हासिल गरेर मात्र ब्राजिलले यस विश्वकपमा खेल्नयोग्य भएको हो ।
विश्वकपअघि ब्राजिलले एन्सोलेटीको रेखदेखमा मात्र पाँच अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमध्ये ब्राजिलले जापानसँग मात्र हार बेहोरेको हो तर यी दुई टिम सोमबार भिड्दा बिल्कुल फरक खेल हुनेछ । जापानका प्रशिक्षक हाजिमे मोरियासुका अनुसार सो हारले ब्राजिल अझ खतरनाक हुनेछ । यद्यपि उनले ब्राजिलसँगको खेल जित्न आफ्नो टिम उत्साहित भएको बताएका छन् ।
ब्राजिललाई स्तब्ध पारेको खेलमा खेलेका प्रायः प्रमुख खेलाडी अहिले जापानी टिममा छैनन् । कप्तान वाटारु इन्डो, विन्गरहरू काओरु मिटोमा र ताकेफुसा कुबो तथा फरवार्ड ताकुमी मिनामिनोको चोटले जापानका प्रशिक्षक मोरियासुलाई चिन्तित बनाएको हो । मिनामिनोले पछिल्लो पटक ब्राजिलविरुद्ध खेल्दा गोल पनि गरेका थिए ।
ब्राजिल पनि फरक टिमका साथ विश्वकपमा आएको छ । जापानसँग छिन्नभिन्न भएको ब्राजिलको डिफेन्स अहिले पूर्ण रूपमा परिवर्तन भइसकेको छ । यस विश्वकपमा मोरक्कोसँगको पहिलो खेमला १–१ को बराबरीपछि ब्राजिल गजबको लयमा पनि देखिएको छ । रियल म्याड्रिडका स्ट्राइकर भिनिसियस जुनियरले लगातार गोल गरिरहँदा पनि ब्राजिलको पुरानो चमक फर्कने छाँट छ । चालु विश्वकपमा समूह चरणका तिनै खेलमा सफलता पाएका भिनिसियसले चार गोल गरिसक्नुभएको छ । सुपरस्टार फुटबलर नेमार पनि तीन वर्षपछि मैदानमा फर्किएका छन् ।
हामीले अझै पनि शतप्रतिशत खेल देखाउन सकेका छैनौँ । उदाहरणका लागि बलसँगै हुँदा हाम्रो गति अपेक्षा अनुरूप तेज हुन सकेको छैन तर हाम्रो टिममा धेरै सुधार भएको छ । अब नकआउटमा हामीले आफ्नो पुरानै छवि देखाउन जरुरी छ, प्रशिक्षक एन्सोलेटीले स्कटल्यान्डलाई ३–० ले हराएपछि भनेका थिए ।
ब्राजिलका महान् खेलाडी जिकोका कारण जापान र ब्राजिलको फुटबलबिच मैत्री सम्बन्ध छ । जापानी फुटबललाई माथि ल्याउन जिकोको महत्वपूर्ण भूमिका रहेको छ । जिकोले सन्न्यासपछि सन् १९९१ देखि १९९४ सम्म जापानमा आएर खेल्नुभयो । जापानमा फुटबलको व्यवसायीकरणमा सहयोग गर्नुभयो । अहिले पनि उनी जापानको क्लब कासिमामा प्राविधिक निर्देशकका रूपमा कार्यरत छन् ।


प्रतिक्रिया