काठमाडौँ । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत सहित १९ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार(आज) विशेष अदालत मा हुने भएको छ। उक्त मुद्दा न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासमा पेशीमा रहेको छ।
यसअघि असार ९ गते भएको सुनुवाइ नसकिएपछि अदालतले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो। सोही मुद्दाको निरन्तर सुनुवाइका लागि बुधबार पुन: इजलासमा पेश गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १९ जनाविरुद्ध ३ अर्ब २१ करोड रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। थुनछेक बहसपछि विशेष अदालतले बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
आयोगले दायर गरेको आरोपपत्रअनुसार तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई एकल निर्णयबाट टेरामक्स खरिद प्रक्रिया अघि बढाएको आरोप लगाइएको छ। मन्त्रिपरिषद्ले प्रयोग गर्ने अधिकारको अपव्याख्या गर्दै अन्तर्राष्ट्रिय कल मोनिटरिङ तथा भीओआईपी प्रणाली सञ्चालनसम्बन्धी निर्देशन दिएको र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निहित अधिकारको दुरुपयोग गरेको आयोगको दाबी छ।
उक्त मुद्दामा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, तत्कालीन सदस्यद्वय धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती लाई पनि प्रतिवादी बनाइएको छ।
त्यसैगरी, परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन्स एसएएल, त्यसको नेपाली एजेन्ट कलेक्सन ट्रेड लिंक प्रा.लि. कम्पनीका प्रमुख कार्यकारी अधिकृत जमाल अनौटी, कलेक्सन ट्रेड लिंकका अध्यक्ष दिलीपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेललाई समेत प्रतिवादी बनाइएको छ। आयोगले उनीहरूको मिलेमतोमा टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोप लगाएको छ।


प्रतिक्रिया