अमेरिकी सेनामा कार्यरत सुनील थापाको गोली लागेर मृत्यु

अमेरिकी सेनामा कार्यरत सुनील थापाको गोली लागेर मृत्यु


ग्लोब नेपाल
162
Shares

अमेरिकी सेनामा कार्यरत नेपाली युवा २४ वर्षीय सुनील थापाको गोली लागेर मृत्यु भएको छ । दुई दिनअघि भएको घटनामा तालिमका क्रममा साथीको बन्दुकबाट चलेको गोली उनको टाउकोमा लागेको प्रारम्भिक जानकारी परिवारले पाएको छ । तर अमेरिकी पक्षबाट यसको आधिकारिक पुष्टि भइसकेको छैन ।

सुनील अमेरिका निवासी दम्पती हेम थापा र माया थापाका कान्छा छोरा हुन् । उनी हालै मात्र अमेरिकी सेनामा पदोन्नति भएका थिए । पदोन्नतिपछि दिइने थप तालिमका क्रममा दुर्घटनावश गोली लागेको हुनसक्ने पारिवारिक स्रोतको भनाइ छ ।

छोराको निधनपछि हेम थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पीडा व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘जीवनको सबैभन्दा दुःखद घडी… मेरो जीवनमा नसोचेको भयो । मेरो र मेरो परिवारको खुसी शत्रुले मात्र होइन, भगवानले समेत देख्न सकेनन् । कति मार्नुछ मार भगवान्… जिउँदो लास भएर बाँचेकै हो, अझै बाँचुला, सहुँला ।’

थापा दम्पतीका दुई छोरा र एक छोरी छन् । जेठा छोरा र छोरी चिकित्सक हुन् भने कान्छा छोरा सुनील अमेरिकी सेनामा कार्यरत थिए ।