बाढी पहिरोका कारण अवरुद्ध छन् यी मुख्य राजमार्ग

बाढी पहिरोका कारण अवरुद्ध छन् यी मुख्य राजमार्ग


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । देशका विभिन्न जिल्लाका मुख्य राजमार्गहरू बाढी, पहिरो तथा सडक मर्मतका कारण प्रभावित भएका छन्। नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार केही सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको र केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।

कोशी प्रदेशको भोजपुरस्थित मध्यपहाडी लोक मार्गमा बाढीका कारण सडक अवरुद्ध भएपछि हाल वैकल्पिक मार्गसहित एकतर्फी सवारी सञ्चालन गरिएको छ। यस्तै इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्ग पहिरोका कारण एकतर्फी सञ्चालनमा रहेको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको विपी राजमार्ग (खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्ड) मा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ स्थित फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक खण्ड भने सडक मर्मतका कारण पूर्ण रूपमा बन्द रहेको छ। प्रहरीले यो सडक यस महिनाको २५ गतेसम्म बन्द रहने जनाएको छ।

लुम्बिनी प्रदेशको पाल्पास्थित सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८, डुम्रे क्षेत्रमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। प्रहरीले प्रभावित सडकमा यात्रा गर्नुअघि पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।