वासिंगटन डिसी । संयुक्त राज्य अमेरिकाले शनिबार आफ्नो स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाएको छ । यस अवसरमा देशभर भव्य समारोहहरू आयोजना गरिएका थिए ।
मुख्य कार्यक्रम वासिङ्टन डीसीस्थित नेशनल मलमा सम्पन्न भयो, जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई लामो सम्बोधन गरेका थिए । अमेरिकामा जारी वर्षा र आँधीका कारण कार्यक्रममा ढिलाइ भए पनि मौसम सफा भएपछि कार्यक्रम अघि बढाइएको थियो ।
आफ्नो सम्बोधनमा ट्रम्पले ‘कम्युनिज्म’ (साम्यवाद) को कडा आलोचना गरे। उनले भने, ‘हामी हाम्रो देशमा साम्यवादीहरूलाई चाहँदैनौं। साम्यवाद सधैं असफल भएको छ र भविष्यमा पनि असफल हुनेछ। यो अमेरिकी प्रणालीको पूर्ण रूपमा विपरीत छ।’ ट्रम्पका अनुसार साम्यवादी विचारधाराले अमेरिका भित्र कहिल्यै जरा गाड्न नसकोस् भन्ने सुनिश्चित गर्न अमेरिकी सैनिकहरूले विश्वभर साम्यवादविरुद्ध लडेका थिए।
भाषणपछि ‘नेशनल मल’मा करिब ४० मिनेटसम्म चलेको कीर्तिमानी आतिशबाजी प्रदर्शन गरियो। यस कार्यक्रममा ८ लाख ५० हजारभन्दा बढी आतिशबाजीहरू पड्काइएका थिए। ह्वाइट हाउसले यसलाई अमेरिकी इतिहासकै सबैभन्दा ठूलो स्वतन्त्रता दिवसको आतिशबाजी प्रदर्शनको रूपमा वर्णन गरेको छ।
सबै ५० वटा राज्यमा परेड, हवाई प्रदर्शन, सांगीतिक कार्यक्रम र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिए। न्युयोर्कमा पानीजहाजहरूको परेड आयोजना गरियो, जसमा भारतलगायत विश्वभरका जहाजहरू समावेश रहेका थिए।
फिलाडेल्फियामा एउटा ‘टाइम क्याप्सुल’ गाडियो, यसलाई अब २५० वर्षपछि मात्रै खोलिनेछ। यसमा आईफोन र कोकाकोलाको बोतललगायत सबै राज्यका सर्वसाधारणसँग सम्बन्धित विभिन्न सामग्रीहरू राखिएका छन्।
राष्ट्रपति ट्रम्पले वासिङ्टनको नेशनल मलवाट राष्ट्रलाई सम्बोधन गर्दा मञ्चमा नासाको ‘आर्टेमिस २’ मिसनका अन्तरिक्ष यात्रीहरू र पूर्वसैनिकहरूको पनि उपस्थित रहेको थियो।


प्रतिक्रिया