क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको ‘राउन्ड अफ १६’ मा स्पेनको सामना गर्दैछ । यी दुई टोलीबीच अन्तिम पटक सन् २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो, जुन खेल ३–३ को बराबरीमा टुंगिएको थियो, उक्त खेलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए।
पोर्चुगिज स्ट्राइकर रोनाल्डो उत्कृष्ट लयमा छन् र उनले यस प्रतियोगितामा हालसम्म ३ गोल गरिसकेका छन्। यो खेल डलास स्टेडियममा नेपाली समय अनुसार आज राति १२ः४५ बजेबाट सुरु हुनेछ।
पोर्चुगल र स्पेनबीच हालसम्म कुल ४१ अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। तीमध्ये स्पेनले १८ र पोर्चुगलले ७ खेल जितेका छन् भने १६ खेल बराबरीमा टुंगिएका छन्।
फिफा विश्वकपमा यी दुई टोली तेस्रो पटक आमने सामने हुँदैछन्। यसअघि सन् २०१८ को विश्वकपमा उनीहरूबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो भने सन् २०१० को विश्वकपमा स्पेन १–० ले विजयी भएको थियो।
यस प्रतियोगितामा पोर्चुगल र स्पेन दुवै हालसम्म अपराजित रहेका छन्। पोर्चुगलले चार खेलमा दुई जित र दुई बराबरीको नतिजा निकालेको छ। समूह चरणमा टोलीले उज्बेकिस्तानलाई ५–० ले पराजित गर्यो भने कोलम्बियासँग ०–० र डीआर कंगोसँग १–१ को बराबरी खेल्यो। ‘राउन्ड अफ ३२’ मा टोलीले क्रोएसियालाई २–१ ले हरायो।
अर्कोतर्फ, कुनै पनि टोलीले स्पेनविरुद्ध गोल गर्न सकेको छैन। समूह चरणमा टोलीले साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० ले पराजित गर्यो जबकी केप भर्डेविरुद्धको खेल ०–० को बराबरीमा सकियो। स्पेनले ‘राउन्ड अफ ३२’ मा अस्ट्रियालाई ३–० ले हरायो।
पोर्चुगल गोलका लागि आफ्ना स्टार खेलाडी तथा कप्तान रोनाल्डोमा निर्भर रहनेछ भने अर्कोतर्फ स्पेनिस टोली आफ्ना युवा स्टार विंगर लामिन यामाल र अभेद्य रक्षापंक्तिमा भर पर्नेछ।
दुबै टोलीका लागि सम्भावित प्रारम्भिक खेलाडीः
पोर्चुगलः डिओगो कोस्टा, जोआओ क्यान्सेलो, रुबेन डियास, एन्टोनियो सिल्भा, नुनो मेन्डेस, जोआओ पाल्हिन्हा, भिटिन्हा, ब्रुनो फर्नान्डिस, बर्नार्डो सिल्भा, राफा लियो, क्रिस्टियानो रोनाल्डो।
स्पेनः डेभिड राया, दानी कार्भाजल, रोबिन ले नोर्मान्ड, एमेरिक लापोर्टे, मार्क कुकुरेला, रोड्रि, फाबियान रुइज, पेद्री, लामिन यामल, अल्भारो मोराटा, निको विलियम्स।


प्रतिक्रिया