काठमाडौं । नयाँ मुख्यसचिव गोविन्दबहादुर कार्कीले पदभार ग्रहण गरिरहँदा आज शुक्रबारसम्म ५ सय ८४ जना निजामति कर्मचारीले राजीनामा बुझाएका छन् । यो संख्या बालेन सरकार गठन भएयताको मात्र हो ।
असार लागे यतामात्र २ सय ८ जना कर्मचारीले राजीनामा दिएका छन् । यो संख्या असार १ गतेदेखि २५ गतेसम्मको हो । यो २५ दिनको अवधिमा सहायकदेखि सहसचिव तहका २ सय ८ जना कर्मचारीले राजीनामा दिएको निजामति किताबखानाले जनाएको छ ।
यसरी राजीनामा दिनेमा सहसचिवको संख्या ८ पुगेको छ । यस्तै उपसचिव ४५ जना, शाखा अधिकृत ५० र अन्य तथा सहायकस्तरका कर्मचारी १ सय ५ जना रहेको किताबखानाले जनाएको छ ।
यही अवधिमा ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा जाने कर्मचारीको संख्या १ सय ९९ पुगेको छ । राजीनामा दिने र अवकासमा जाने कर्मचारीको संख्या जोड्दा असार महिनामा मात्र ४ सय ७ पुगेको छ । यसरी राजीनामा बुझाउने कर्मचारीहरुमा २० वर्ष सेवा अवधि पुगेर १५ वर्ष अझै जागीर अवधि रहेका कर्मचारीसमेत छन् ।
राजीनामा दिने सहसचिवमध्ये वन तथा वातावरण मन्त्रालयका सहसचिव राजु सापकोटा, वन विभागका उपमहानिर्देशक उद्धब घिमिरे तथा पूर्वाधार मन्त्रालय मातहतका प्राविधिक सहसचिव प्रभातकुमार झाले समेत सेवा छाडेका छन् । उनले १५ वर्ष सेवा अवधि बाँकी रहे पनि पेन्सन सुविधा सुनिश्चित गरेर जागीरबाट राजीनामा दिएका हुन् ।
त्यस्तै उपसचिव भोजबहादुर एडी, श्रीधर पन्थी, शोभाकर पाण्डे, मेघराज सापकोटा, लालप्रसाद शर्मा भुसाल, शोभाकर न्यौपाने, सुमा श्रेष्ठ र कृष्ण बेन्जुलगायतका छन् । उनीहरुमध्ये अधिकांशको राजीनामा स्वीकृत भइसकेको छ ।
शाखाअधिकृत विणा श्रेष्ठ, शेखरनिधि पौडेल, दिलसेर राई, मार्किस दोरंगाले पनि सेवा छाडेका छन् । यसअघि स्थानीय तहमा खटाइएपछि शाखा अधिकृत गणेश घिमिरे, हरि पौडेललगायतले सेवाबाट राजीनामा दिएका थिए ।
सरकारले ल्याउन लागेको ३० वर्ष सेवा वा ५५ वर्ष उमेरको अवकाससम्बन्धी प्रस्तावको कारण राजीनामाको लहर चलेको बताइएको छ । बालेन सरकारद्वारा प्रस्तावित मस्यौदाअनुरुप ऐन आएमा ३० वर्षको मात्र पेन्सन पाउने भएका कारण राजीनामा लहर चलेको बताइन्छ ।


प्रतिक्रिया