फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा युरोपका शीर्ष दुई वरीयता प्राप्त टोली तथा विश्व फुटबलकै सबैभन्दा कडा प्रतिद्वन्द्वी मानिने स्पेन र फ्रान्स आमनेसामने हुँदैछन्।
प्रतियोगिताअघि नै उपाधिको दाबेदार मानिएका यी दुई टोलीबीचको भिडन्तलाई धेरैजसो समर्थकले एक महिना लामो विश्वकपको सबैभन्दा प्रतीक्षित खेलका रूपमा हेरेका छन्। यस्तो विश्वकप जसले मैदानभित्र र बाहिरसमेत निकै रोमाञ्चक घटनाक्रमहरू पस्केको छ।
डालसमा मंगलबार हुने भिडन्त विशेष रहनेछ किनकि यसमा फुटबलका दुई असाधारण प्रतिभाहरू किलियन एम्बाप्पे र लामिन यामाल एउटै मैदानमा उत्रँदैछन्।
एम्बाप्पे र यामाल यसअघि ‘ला लिगा’ अन्तर्गत रियल मड्रिड र बार्सिलोनाबीचको चर्चित ‘एल क्लासिको’ मा पटक पटक आमनेसामने भइसकेका छन्। तर यसपटक मञ्च निकै ठूलो छ र दाउमा रहेको उपलब्धि पनि उत्तिकै महत्त्वपूर्ण छ किनकि विजेताले विश्वकपको फाइनल खेल्ने हरेक फुटबल खेलाडीको सपना साकार पार्नेछ।
फ्रान्स र स्पेनबीचको यस खेलबारे जान्नुपर्ने सम्पूर्ण विवरण यहाँ दिइएको छ ।
आइतबारसम्मको तथ्याङ्क अनुसार ओप्टाको सुपरकम्प्युटरले निर्धारित समयभित्र फ्रान्सको जितको सम्भावना ४२.१ प्रतिशत देखाएको छ भने स्पेनको जितको सम्भावना ३१.८ प्रतिशत रहेको छ। उक्त मोडलले खेल अतिरिक्त समयमा जाने सम्भावना २६.१ प्रतिशत रहेको अनुमान गरेको छ।
पहिलो सेमिफाइनल खेल टेक्सासको आर्लिङ्टनस्थित डलास स्टेडियममा हुनेछ, यस प्रतियोगिताका लागि उक्त रङ्गशालाको दर्शक क्षमता ७० हजार ६४९ रहेको छ।
१६ सहरमा आयोजना भइरहेको यस वर्षको विश्वकपमा सबैभन्दा बढी खेलहरू (नौ दिन) सञ्चालन हुने यो रङ्गशालामा हुने खेलहरू मध्ये यो अन्तिम खेल हो।
फ्रान्स र स्पेन एकअर्काका परिचित प्रतिद्वन्द्वी हुन् र उनीहरूबीच अहिलेसम्म ३८ पटक प्रतिस्पर्धा भइसकेको छ। आमनेसामनेको नतिजामा स्पेनको पल्ला भारी छ, उसले १८ खेल जितेको छ। फ्रान्सले १३ खेल जितेको छ भने सात खेल बराबरीमा टुंगिएका छन्।
उनीहरूबीचको पछिल्लो भेट करिब एक वर्ष अघि सन् २०२५ को युइएफए नेसन्स लिगको सेमिफाइनलमा भएको थियो। उक्त रोमाञ्चक खेलमा स्पेनले फ्रान्सलाई ५–४ ले पराजित गरेको थियो, जसमा यामालले दुई गोल गर्दै टोलीलाई अघि बढाएका थिए।
फ्रान्स र स्पेनका पछिल्ला ५ खेलहरूः
स्पेन ५–४ फ्रान्स (युइएफए नेसन्स लिग २०२५ सेमिफाइनल)
स्पेन २–१ फ्रान्स (युइएफए युरो २०२४ सेमिफाइनल)
स्पेन १–२ फ्रान्स (युइएफए नेसन्स लिग २०२१ फाइनल)
फ्रान्स ०–२ स्पेन (अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, २०१७)
फ्रान्स १–० स्पेन (अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, २०१४)
फ्रान्स र स्पेन फिफा विश्वकपमा एकपटक मात्र आमनेसामने भएका छन्। यो सन् २००६ को संस्करणको कुरा हो, जसमा फ्रान्क रिबेरी, प्याट्रिक भिएरा र चर्चित खेलाडी जिनेदिन जिदानको गोलको मद्दतले फ्रान्सले अन्तिम १६ को खेलमा स्पेनलाई ३–१ ले पराजित गरेको थियो।
युरोपेली फुटबलका दुई शक्तिशाली टोली फ्रान्स र स्पेन, युरोपियन च्याम्पियनसिपमा पाँच पटक आमनेसामने भएका छन्। दुवै टोलीले समान दुई–दुई खेल जितेका छन् भने एउटा खेल बराबरीमा सकिएको छ।
उनीहरूबीचको पछिल्लो युइएफए युरोको भेट सन् २०२४ मा भएको थियो, जसमा स्पेनले सेमिफाइनलमा फ्रान्सलाई २–१ ले पराजित गरेको थियो, उक्त खेलमा विजेता टोलीका लागि यामाल र डानी ओल्मोले गोल गरेका थिए।
फ्रान्स र स्पेनका ट्रफी र पदकहरूः
विश्वकपः फ्रान्स १९९८, २०१८, स्पेन २०१००
युरो कपः फ्रान्स १९८४, २००००, स्पेन १९६४, २००८, २०१२, २०२४
ओलम्पिक स्वर्णः फ्रान्स १९८४, स्पेन १९९२, २०२४
यस प्रतियोगितामा फ्रान्सका लागि एमबाप्पे सबैभन्दा घातक गोलकर्ता साबित भएका छन्। उनी ८ गोल र तीन असिस्टसहित उनी ‘गोल्डेन बुट’ को दौडमा अग्रस्थानमा छन्। आक्रमणमा उस्मान डेम्बेले पाँच गोल र माइकल ओलिसे पाँच असिस्ट पनि निकै प्रभावशाली देखिएका छन्।
फ्रान्सको मुख्य शक्ति भनेको ब्राडली बार्कोला, डेम्बेले र ओलिसेको त्रिमूर्ति तथा मुख्य स्ट्राइकर एमबाप्पेको नेतृत्वमा रहेको निकै प्रभावशाली र लोभलाग्दो आक्रमण पङ्क्ति हो। समूह चरणमा फ्रान्सले रक्षात्मक कमजोरीहरू देखाएको थियो, सेनेगल र नर्वेविरुद्ध गोल खाएको थियो तर त्यसपछिका तीनवटै नकआउट खेलहरूमा भने उनीहरूले विपक्षीलाई गोल गर्न दिएका छैनन ।
आक्रमणमा उत्कृष्ट खेलाडीहरू भए तापनि स्पेनको वास्तविक शक्ति भनेको उनीहरूको बलियो रक्षा पङ्क्ति हो। स्पेनले ५ खेलमा जम्मा एउटा गोल खाएको छ र त्यो पनि क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध थियो। आक्रमणको कुरा गर्दा टोली कहिलेकाहीँ सुस्त र सिर्जनात्मकताको अभाव देखिएको छ तथा अझै पनि आफ्नो उत्कृष्ट लयमा आउन बाँकी छ।
आफ्ना पछिल्ला दुई नकआउट खेल जित्न उनीहरूलाई वैकल्पिक खेलाडी मेरिनोको अन्तिम समयको गोलको सहारा लिनुपरेको थियो। अर्कोतर्फ, चोटबाट मुक्त भएर विश्वकपमा आएका टोलीका नियमित नायक यामालले अझै पनि आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न बाँकी नै छ, त्यही क्षमता जसले स्पेनलाई युरो २०२४ मा सफलता दिलाएको थियो।
पीएसजीका स्टार खेलाडी ओस्मान डेम्बेले एमबाप्पेसँग मिलेर फ्रान्सको घातक अग्रपङ्क्ति (फर्वार्ड जोडी) को हिस्सा बनेका छन्।
यदि निर्धारित समयको खेल सकिँदा नतिजा बराबरी भयो भने १५–१५ मिनेटका दुई अवधिको अतिरिक्त समय खेलिनेछ। यदि त्यसपछि पनि बराबरी नै रह्यो भने खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिनेछ।


प्रतिक्रिया