काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२÷८३ मा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ। बोर्डका अनुसार अघिल्लो आर्थिक वर्षका बाँकी दाबी तथा चालु आर्थिक वर्षको पुस मसान्तसम्म स्वीकृत भएका दाबी रकम चरणबद्ध रूपमा भुक्तानी गरिएको हो।
बोर्डले यसअघि असोज, कात्तिक र मंसिरसम्म प्राप्त तथा स्वीकृत दाबीको रकम निकासा गरिसकेको थियो। पछिल्लो चरणमा पुस महिनासम्म स्वीकृत भएका दाबीबापत २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाको बैंक खातामा जम्मा गरिएको जनाएको छ।
यस भुक्तानीसँगै आर्थिक वर्ष २०८२÷८३ अन्तर्गत पुस महिनासम्म स्वीकृत भएका सबै दाबीको भुक्तानी सम्पन्न भएको बोर्डले स्पष्ट पारेको छ।
बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सेवा प्रदायक संस्थालाई समयमै दाबी भुक्तानी गर्ने नीति अपनाइएको छ। दाबी भुक्तानी प्रक्रिया नियमित, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुधारलाई निरन्तरता दिइएको बोर्डको भनाइ छ।
समयमै भुक्तानी हुँदा सेवा प्रदायक स्वास्थ्य संस्थाको वित्तीय व्यवस्थापन सहज हुने र स्वास्थ्य बीमा सेवाप्रति सेवाग्राहीको विश्वास थप मजबुत हुने अपेक्षा बोर्डले गरेको छ।


प्रतिक्रिया