रोल्पा । केही दिनअघि वर्षाको झरीमा रेनकोट ओढेर विद्यालयतर्फ उकालो बाटो हिँडिरहेका तीन साना बालिकाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भयो । ती बालिकाको सरलता, पढाइप्रतिको लगाव र संघर्षले धेरैको मन छोएपछि उनीहरूको शिक्षाको जिम्मेवारी स्थानीय विद्यालय र गाउँपालिकाले संयुक्त रूपमा लिने निर्णय गरेका छन् ।
रुन्टीगढी गाउँपालिका–४, टोलबाङ निवासी मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्तीले अब उच्च शिक्षासम्म नि:शुल्क अध्ययन गर्ने अवसर पाउने भएका छन्। हाल सियाँ तीन वर्षकी छन् भने दुई मनजीता क्रमशः पाँच र छ वर्षका छन् । उनीहरू सुर्पाल बजारस्थित एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलमा नर्सरी, एलकेजी र कक्षा १ मा अध्ययनरत छन् ।
समाजसेवी तथा पत्रकार भुवन थापाको समन्वयमा शुक्रबार रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन, विद्यालयका प्रिन्सिपल तेजबहादुर पुन तथा भिडियो खिचेर सार्वजनिक गर्ने लोकेन पुनलगायतको टोली बालिकाहरूको घर पुगेको थियो। त्यहाँ अभिभावकसँग भएको छलफलपछि उनीहरूको उच्च शिक्षासम्मको अध्ययन नि:शुल्क गराउने सहमति भएको हो ।
सहमतिअनुसार एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलले तीनै बालिकालाई कक्षा ६ सम्म पूर्ण रूपमा नि:शुल्क शिक्षा उपलब्ध गराउनेछ। विद्यालयका प्रिन्सिपल तेजबहादुर पुनले आर्थिक अवस्थाले कुनै पनि बालिकाको पढाइ प्रभावित हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
त्यसपछि कक्षा ७ देखि स्नातक तहसम्मको सम्पूर्ण अध्ययनको जिम्मेवारी रुन्टीगढी गाउँपालिकाले लिने गाउँपालिका अध्यक्ष जनक पुनले घोषणा गरेका छन् । उनले बालिकाहरूको उज्ज्वल भविष्यका लागि स्थानीय सरकारले आवश्यक सबै सहयोग गर्ने बताए ।
तीनै बालिकाका बुवा वैदेशिक रोजगारीमा रहेका छन् । दुई बालिका एउटै परिवारका हुन् भने अर्की छिमेकी परिवारकी हुन् । उनीहरूको संघर्षपूर्ण दैनिक जीवन र पढाइप्रतिको उत्साहले धेरै नेपालीको ध्यान आकर्षित गरेपछि सहयोगको लहर सुरु भएको हो ।
पानी परिरहेको समयमा गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेर आफ्नै तालमा विद्यालयतर्फ उकालो चढिरहेका तीन बालिकाको भिडियो अहिले सामाजिक सञ्जालमा लाखौँ पटक हेरिएको छ। एउटा सामान्य दृश्यले देशभर सकारात्मक सन्देश फैलाउँदै ती बालिकाको भविष्य उज्यालो बनाउने अभियानको रूप लिएको छ ।
यो पहलले सामाजिक सञ्जालमा भाइरल हुने सामग्री केवल मनोरञ्जनका लागि मात्र नभई आवश्यक परेका बालबालिकाको जीवनमा वास्तविक परिवर्तन ल्याउने माध्यम पनि बन्न सक्छ भन्ने सन्देश दिएको छ ।


प्रतिक्रिया